Advertisement
विज्ञापन

निद्रा बिना पनि जीवन पूर्ण गतिमा चल्न सक्छ ? चार विज्ञले यसाे भने



Advertisement
विज्ञापन

हामी भागदौडयुक्त संसारमा बाँचिरहेका छौँ । ​गर्नका लागि सधैँ धेरै काम बाँकी हुन्छ । मानिसहरुसँग भेटघाट, परिवार र साथीभाइको हेरचाह । इमेल र फेसबुक चेक गर्नु । मोबाइल र ओटीटी प्लेटफर्ममा टाँस्सिइरहनु । तीब्र गतिको जीवनले हामीलाई महसुस गराउँछ कि हामी कन्वेयर बेल्टमा छौं जसको गति निरन्तर बढिरहेको छ ।

एउटा यस्तो संसार जहाँ सधैं धेरै प्राप्त गर्ने चाहना हुन्छ, तर त्यहाँ केहि यस्तो कुरा पनि छ जुन निरन्तर घटिरहेको छ । त्यो हो हाम्रो सुत्ने समय । जब हामी साथीहरूलाई सोध्छौँ कि तपाईंलाई कस्तो महसुस भइरहेको छ । धेरैजसो जवाफ पाउँदै, ‘थकाई लागिरहेको छ ।


Advertisement
Advertisement
Advertisement

निद्राको कमीको विषयमा विश्वभरी चिन्ता व्यक्त गरिँदै छ । एक अध्ययनले देखाएको छ कि निद्राको कमीले अमेरिकी अर्थतन्त्रलाई वार्षिक चार ट्रिलियन डलर घाटा भइरेहेको छ ।

अब महत्त्वपूर्ण प्रश्न के छ भने हाम्रो निद्रासँग थकानको सम्बन्ध कति गहिरो छ र के मानिस निद्राबिना पनि तरोताजा महसुस गर्न सक्छन् ?

यसको जवाफ पाउन बीबीसीले चारजना विज्ञसँग कुरा गरेको छ ।

हाम्रा पुर्खाहरू कति सुत्थे

युनिभर्सिटी अफ टोरन्टोका एसोसिएट प्रोफेसर डेभिड सामसन भन्छन्, ‘करिब सात महिनासम्म म राती जागा भएर काम गर्थें । स्नातक विद्यार्थीको हैसियतमा, यदि तपाईं आफ्नो काम पूरा गर्न चाहनुहुन्छ भने, तपाईंसँग एउटा लगन हुनुपर्छ ।’

डेभिड सामसन  विद्यार्थी हुँदा निद्रा के हो, उनले बिर्सिसकेका थिए ।  अहिले जीवविज्ञानीका रूपमा उनी दुर्गम क्षेत्रमा धेरै घुम्छन् । वनमान्छे सुतिरहेको हेर्नका लागि उनले करिब दुई हजार घण्टाको भिडियोग्राफीको विश्लेषण गरे ।

डेभिड क्रमिक विकास र निद्रा बीचको सम्बन्ध बुझ्न चाहन्थे ।

वनमान्छे ९ देखि १६ घण्टासम्म सुत्छन् । डेभिड स्यामसनले यसको आधारमा एउटा मोडेल डिजाइन गरे । उनले अन्य ठूला बाँदरहरुको विकासको क्रम फरक नभएको खण्डमा मानिसले कति घण्टा सुत्ने अपेक्षा गरिएको थियो भन्ने अनुमान गरेका छन् ।

डेभिड स्यामसन भन्छन्, ‘मानिसले २४ घण्टामा १०.३ घन्टा सुत्नुपर्छ । पक्कै पनि हामी त्यसो गर्दैनौँ । हामी औसत ६ वा  ७ घण्टा सुत्छौँ ।’

निद्राको फाइदा

डेभिडका अनुसार गहिरो निद्रा धेरै तरिकाले लाभदायी  छ । यसले स्मरणशक्ति सुधार गर्छ र भावनाहरू नियन्त्रण गर्न मद्दत गर्छ ।

छोटकरीमा भन्नुपर्दा, मानिस ठूला बाँदरभन्दा कम सुत्छन्, तर धेरै गहिरो सुत्छन् । डेभिड स्यामसनको अनुसन्धान अनुसार यो परिवर्तन १८ लाख वर्ष पहिले भएको थियो । जब हाम्रा पुर्खाहरू रुखबाट ओर्लिएर मुनि बस्न थाले । त्यसपछि उनीहरुलाई रुखबाट खस्ने डर भएन । झुपडी र आगोको खोजीले निद्रालाई थप राम्रो बनाउन मद्दत गरे ।

कम समय सुत्नु भनेको हामीसँग अन्य काम गर्नको लागि बढी समय छ भन्ने हो । एक प्रजातिको रूपमा, यसले उत्पादन क्षमता बढायो ।

डेभिड स्यामसनले हाम्रा पुर्खाहरूको निद्राको ढाँचा बुझ्न फिटबिट नामको मोनिटर प्रयोग गरे । यो तान्जानियाको जनजातिको नाडीमा बाँधिदिए ।

डेभिड सामसन बताउँछन्, ‘उनीहरू रातमा छ वा साढे छ घण्टा सुत्छन् । तिनीहरू दिनमा केही समय सुत्छन् । त्यसैले हामी भन्न सक्छौं कि तिनीहरूमध्ये धेरैजसो २४ घण्टामा सात घण्टा सुत्छन् ।’

निद्रामा औद्योगिकीकरणको प्रभाव

डेभिड स्याम्सनले तान्जानियामा निद्राका लागि केही समस्या छ त भनेर सोधे जवाफ ‘केही छैन’ भन्ने पाए ।

डेभिडले मेडागास्करका किसानहरूमा पनि नजर राखे । तीमध्ये अधिकांश सात घण्टा मात्रै सुतिरहेका थिए । तर त्यहाँका करिब ६० प्रतिशत मानिसले निद्रा नलागेको गुनासो गरेका छन् ।

डेभिड बताउँछन् कि मेडागास्करका किसानहरूले समय तालिकालाई कडाईका साथ पालना गर्छन् । उनीहरु निश्चित समयमा उठ्छन् । निश्चित घण्टा काम गर्थे र निश्चित समयमा सुत्थे ।

अर्कोतर्फ, तान्जानियाका आदिवासी जनजातिहरूको दृष्टिकोण फरक छ ।

डेभिड स्यामसन भन्छन्, ‘उनीहरुसँग जीवनमा धेरै लचिलोपन छ । विशेष गरी उनीहरुको कामको समयका लागि । कतै न कथै यसको सम्ब्नध यो कुरामा पनि छ कि उनीहरुसँग निद्रासम्बन्धि समस्या छैन जबकी उनीहरु धेरै सोच्दैनन् ।’

औद्योगीकरणले मानिसको निद्रामा पनि असर गरेको छ ।

विभाजित निद्रा

अमेरिकाका भर्जिनिया टेकमा इतिहासका प्राध्यापक रोजर इकर्च सन् १९८० को दशकको मध्यमा औद्योगिकरण अघिको नाइट लाइफबारे एक किताब लेखिरहेका थिए । यो त्यो समय थियो जब बिजुली थिएन ।

अरू सबैजस्तै, रोजरले पनि विश्वास गर्थे कि हामी अहिले जसरी सुतिरहेका छौँ, मानिसहरुले सधैँ यसरी नै सुत्दै आएका छन् । अर्थात् उनीहरुले एकैपटक निद्रा पूरा गर्छन् तर अध्ययनका क्रममा फरक जानकारी आएको छ ।

रोजर इचेर्च भन्छन्, ‘मैले फर्स्ट स्लिप अर्थात् निद्राको पहिलो चरणबारे जानकारी पाउन थालेँ । यो सामान्य कुरा हो जस्तो गरी उल्लेख गरिएको थियो । त्यसपछि दोस्रो निद्राको कुरा बाहिर आयो । महत्वपूर्ण यो थियो कि मानिसहरु आधा रातपछि उठ्थे र जुन कुराको कल्पना गर्न सकिन्छ, ती सबै काम गर्थे ।’

रोजर इकर्चले यसबारे जति अध्ययन गरे, हिस्सामा लिइने निद्रासँग सम्बन्धि त्यति नै जानकारी पाउँदै गए । चार्ल्स डिकेन्सदेखि टोलस्टोयसम्मका प्रायः सबै प्रमुख युरोपेली उपन्यासकारले निद्राको यो ढाँचा उल्लेख गरेका छन् भनी उनले औंल्याए ।

मानिसहरु पहिलो र दोस्रो निद्राबीच जे गर्थे, त्यो कुराले सबैभन्दा बढी चासो जगाएको थियो ।

रोजर इकर्च भन्छन्, ‘केही मानिसहरूका लागि यो ध्यान गर्ने सही समय थियो । उनीहरूले भर्खरै देखेका सपना बारे सोच्थे । उनीहरूसँग यति धेरै मौन समय कहिल्यै आउँदैनथ्यो ।’

यति अँध्यारो होस् । त्यति निजि पल होस् । गर्भधारणको हिसाबले यो प्राइम टाइम थियो । १६ औँ शताब्दिको फ्रान्सका चिकित्सक जुबैरको शब्दमा भन्ने हो भने यतिबेला जोडीले उत्कृष्ट अनुभव र थप आनन्द हासिल गर्दथे ।’

निद्रा र थकान

आनन्दित हुनु त ठिकै हो, तर त्यतिबेला पनि मानिसहरु आफूलाई थाकेको महसुस गर्दथे ?

यस प्रश्नमा रोजर इकर्च भन्छन्, ‘हो, उनीहरु थकित महसुस गर्दथे । यस्तो हुनुको कारण यो थिएन कि उनीहरु दुई हिस्सामा आफ्नो निद्रा पूरा गर्दथे । उनीहरु थाकेको हिसाबले यस्तो लाग्छ कि जनसंख्याको एउटा हिस्सा रोग र वातावरणसँग सम्बन्धि समस्याका कारण निद्रा पूरा गर्न पाउँदैनथे ।’

१९ औँ शताब्दीदेखि निद्रासँग सम्बन्धित अवस्था सुधारियो र यहाँबाट नै दुई चरणमा सुत्ने बानी परिवर्तन हुन थाल्यो । औद्योगिक क्रान्तिसँगै समय पैसा जत्तिकै मूल्यवान भयो । कार्य कुशलता र उत्पादन क्षमतालाई ठूलो महत्त्व दिइयो । चाँडो उठ्ने अभियान पनि चलाइएको छ ।

नयाँ विधिको विरोध गर्नेहरूले लण्डनमा सन् १९५१ मा आयोजना गरेको प्रदर्शनीमा समाधान फेला पारे ।

रोजर इकर्च भन्छन्, ‘छिटो उठ्नेहरुका लागि बनेको अलार्म भएको चारखुट्टे खाट । घण्टा बजेपछि यसको अगाडिको भाग तल हुन्थ्यो । यस्तोमा सुत्नेहरुको खुट्टा पलङभन्दा तल हुन्थ्यो । पलङको मुनी चिसो पानीको टब हुन्थ्यो ताकि निद्राले छिटो छोडोस् ।’

यो एउटा मात्र प्रविधि थिएन । औद्योगिक विकासका साथसाथै निद्राको सामना गर्न कृत्रिम प्रकाश जस्ता धेरै चीजहरू आए ।

निद्रा संकट

युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्रोफेसर म्याथ्यु वाकर भन्छन्, ‘म यहाँ के भन्न चाहन्छु भने मेरो कुरा सुनिरहेका बेला मानिसहरु यदि निदाए वा निद्रामा झुले भने म रिसाउनेछैन ।’

प्रोफेसर म्याथ्यु वाकरलाई निद्राको बारेमा लगभग सबै कुरा थाहा छ ।

म्याथ्यू वाकरलाई निद्राको ढाँचा कसरी परिवर्तन भयो भन्ने पनि थाहा छ ।

उनी भन्छन्, ‘सन् १९४० को दशकमा मानिसहरू हरेक रात औसत आठ घण्टाभन्दा अलि बढी सुत्ने गर्थे । आजको आधुनिक युगमा हाम्रो निद्रा घटेर प्रति रात ६.७ वा ६.८ घण्टा भएको छ । ७० वर्षको अवधिमा निद्रामा अचम्मको कमी आएको छ । हामी यस्तो चरणमा छौं जहाँ निद्रा लगभग २० प्रतिशतले घटेको छ ।’

कम निद्राले हामीलाई कति क्षती पुर्याइरहेको छ ?

वयस्कहरूको लागि, आजको आधुनिक संसारमा, यस्ता धेरै कुरा छन् जसका कारण निद्रा कम भइरहेको छ । क्याफिनले हामीलाई जागा बनाइराख्छ । मादक पदार्थले सपनामाथि रोक लगाउँछ ।

निद्रासँग सम्बन्धित अवस्थाहरू सुधार भएको छ । राम्रा डसना छन् । धुँवारहित घर छन् तर वातावरणलाई नियन्त्रण गर्न नसक्दा पनि समस्या बढेको देखिन्छ ।

म्याथ्यु वाकर भन्छन्, ‘मानिसहरूलाई अचम्म लाग्न सक्छ, तर समस्याको एउटा कारण सेन्ट्रल हिटिङ वा सेन्ट्रल एयरकन्डिसनिङ हो । जब घाम अस्ताउँछ, तापक्रम घट्छ । जब सूर्य बाहिर निस्कन्छ, तापक्रम बढ्न थाल्छ ।’

शरीर तापमानमा यो परिवर्तन महसुस गर्न चाहन्छ । तर हामीले आफूलाई प्राकृतिक संकेतबाट टाढा राखेका छौं जसले हामीलाई कहिले सुत्ने भनेर समय बताउँछ ।

यसबाहेक प्रविधिको प्रभाव पनि छ । यसमा कृत्रिम बत्ती मात्र नभएर अन्य धेरै उपकरणहरू पनि छन् । यसमा एलईडी स्क्रिनहरू पनि छन् जसबाट नीलो प्रकाश आउँछ ।

म्याथ्युका अनुसार यो नीलो प्रकाशले रातको समयमा मेलाटोनिन नामक प्रोटिनको रिलीजलाई रोक्छ । यो हर्मोनले तपाईं कहिले सुत्नुपर्छ भन्ने संकेत गर्छ । यसबाहेक धेरै काम गर्ने र कम समय सुत्ने आर्थिक र सामाजिक दबाब पनि छ ।

प्रोफेसर वाकरका अनुसार सात घण्टा भन्दा कम सुत्नुको प्रभाव स्वास्थ्यमा देखिन्छ।

उनी भन्छन्, ‘विकसित विश्वमा हामीलाई मार्ने हरेक ठूला रोग, चाहे त्यो क्यान्सर होस्, मोटोपना होस्, मधुमेह होस्, चिन्ता होस्, डिप्रेसन होस्, आत्महत्या गर्ने प्रवृत्ति होस्, सबैको निद्राको कमीसँग प्रत्यक्ष र बलियो सम्बन्ध छ ।’

म्याथ्यु वाकर भन्छन् कि यदि तपाईंले मानिसमाझ एक सर्वेक्षण गर्नुभयो भने, तपाईंले पाउनुहुनेछ कि लगभग ६५ प्रतिशत मानिस धेरै सुत्न चाहन्छन् । सन् १९८० को दशकमा, लगभग ३० प्रतिशत मानिसले त्यसो भन्थे । यसको कारण आजको तुलनामा मानिसहरू धेरै सुत्नु हो ।

निद्रा दीर्घायुसँग कसरी सम्बन्धित छ ?

लेखिका जेसा ग्याम्बल भन्छिन्, ‘यो कम सुत्ने बारे होइन, धेरै बाँच्ने बारे हो ।’

निद्रा र सपनाहरू हराउँदै गएको बेला, उनी एकदिन यस्तो सपना देख्निछन् कि एक दिन मानिसलाई सुत्न आवश्यक नै पर्नेछैन । उनलाई पहिलो पटक यस्तो विचार नेन्सी क्रेसको किताब पढिरहेका बेला आएको थियो ।

जेसा ग्याम्बलले यो लक्ष्य हासिल गर्न वैज्ञानिकहरूले के गरिरहेका छन् भन्ने जानकारी प्राप्त गर्ने प्रयास गर्न थालिन् ।

अमेरिकी सेनाले लामो समयदेखि निद्रालाई टाढा राख्ने प्रयास गरिरहेको छ । यसका लागि क्याफिन र निद्रा कम गर्ने औषधिहरू प्रयोग गरिन्छ ।

यद्यपि, यदि निद्रा आवश्यक नै थिएन भने यो विकासक्रमको सबैभन्दा ठूलो गल्ती हुन्थ्यो र यदि हामी कम समयसम्म सुत्न चाहन्छौँ भने हामीले गहिरो निद्रा लिनुपर्छ । केही यस्ता अनुसन्धान भएका छन् जसमा मानिसलाई छिटोभन्दा छिटो गहिरो निद्राको अवस्थामा लैजाने बाटोमा ध्यान दिइएको छ ।

हजुरआमाले भन्न सक्नुहुन्छ कि यदि तपाईंको अनुहार र हात न्यानो छ भने निद्रा छिट्टै आउँछ, तर यस्ता केहि कुराहरु पनि छन् जुन तपाईंको हजुरआमाले बताउन सक्नुहुन्न ।

गहिरोसँग कसरी सुत्न सकिन्छ ?

यी मध्ये एक पिंक नोइज हो । ठ्याक्कै त्यो आवाज जुन तपाईं एउटा रेडियामा एउटाबाट अर्को स्टेशनमा सेट गर्दा सुन्ने आवाज । जेसा गेम्बल भन्छिन्, ‘यदि तपाईं हरेक सेकेन्डमा त्यो पिंक नोइज सुन्नुहुन्छ भने, यसले तपाईंको स्लो वेभ्सलाई चरममा पुर्याउनेछ । यसले तपाईंलाई बिहान फ्रेशमा उठाउन मद्दत गर्छ ।

जेसा ग्याम्बल भन्छिन्, ‘चुम्बकको मद्दतले मस्तिष्कमा विद्युतीय तरंगहरू सार्ने विचार अलि डरलाग्दो सुनिन्छ तर यो प्रभावकारी पनि हुन सक्छ । तर यस्तो प्रविधि अझै प्रयोगशालामा सीमित छ ।’

यद्यपि, उनी भन्छिन् कि पिंक नोइज उत्पादन गर्ने उपकरणहरू चाँडै बजारमा आउन सक्छन् ।

जेसा ग्याम्बल भन्छिन्, ‘वर्तमान प्रविधिको साथ, मानिसहरू एक वा दुई घण्टा निद्रा कम गर्ने कुरा गर्छन् । तर त्यहाँ एक सम्भावित परिदृश्य पनि छ जहाँ जागा हुँदा पनि हाम्रो निद्राको भरपाई होस् ।’

‘यो यस्तो खालको हो जहाँ एउटा विमानले हावामा नै इन्धन पाउँछ र उसले कहिले जमिनमा उत्रिनुपर्दैन । म यस्तो विचारलाई मन पराउँछु । आखिर भोलिबारे कसलाई थाहा छ ?’

त्यही प्रश्नमा फर्केर आउँदा, हाम्रो निद्रासँग थकानको सम्बन्ध कति गहिरो हुन्छ र के मानिस निन्द्रा नलिइकन पनि ताजा रहन सक्छन् ?

विज्ञहरू बताउँदै आएका छन् कि अन्य कुराका लागि निद्रा त्याग्नु हाम्रो स्वभाव हो तर प्रविधि र सामाजिक परिवर्तनले हामीले यसको सीमा धेरै बढाएका छौँ । यसले हाम्रो परम्परागत सुत्ने तरिका र सुत्ने समग्र समयलाई असर गरेको छ ।

त्यसकारण हामी थकित महसुस गर्नु अचम्मको कुरा होइन ।

विज्ञानको सहयोगले हामीले निद्राको आवश्यकतालाई केही हदसम्म कम गर्न सक्छौँ ।

राम्रो कुरा यो हो कि अहिले त्यहाँ सजिलो र पीडा–रहित समाधानहरू निःशुल्क उपलब्ध छन् ।

अँ साँच्ची, यहाँसम्म हामीसँगै बसेपछि यदि तपाईं आफ्नो आँखा बन्द गरेर तकियामा टाउको अड्याएर सुत्नुहुन्छ भने सायदै यसलाई नराम्रो मान्नु हुँदैन होला ।

आशा छ, तपाईंले राम्रो सपना देख्नुहुनेछ ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad