सेङलेङ मेलामा भक्तजन बढे
अर्घाखाँची।चैते दशैंको द्धादशीको दिन भूमिकास्थान–१०, धनचौरको पर्यटकिय स्थल सेङलेङमा भव्य सराय नाँच तथा दशैं मेला सम्पन्न भएको छ।असत्यमाथि सत्य र विजयको खुसियाली स्वरुप हर्षोल्लासका साथ नाचिने सराय नाँचले चतैदसैँको महत्वलाई थप बलियो बनाएको सेङलेङमा अवस्थित सत्यदेवी–बराह मन्दिरका पुजारी खुविराम खनालको भनाई छ।
यस बर्षको सरांय नाँच तथा चैतेदशैंको मेला अवलोकन गर्न शितगंगाको जुकेना, ठाडा, भूमिकास्थानका सबै वडा र सन्धिखर्क सहित अर्घाखाँचीका विभिन्न क्षेत्रबाट दर्शक एवम् भक्तजनहरु सेङलेङमा पुगेको स्थानिय सत्यदेवी आधारभुत विद्यालयका प्रधानध्यापक बिष्णु प्रसाद बन्जाडेको दाबी छ ।
विगतका बर्षमा भन्दा यसबर्ष दर्शनार्थिहरुको संख्यामा उल्लेख्य वृद्धि भएको प्रधानध्यापक बन्जाडेले जानकारी दिनुभएको छ ।चिसो मौसममा जुलेपी, मोःमो, चाउमिन सहित विभिन्न खानाका परिकार बनाएर बेच्न बसेकाहरुको ब्यापार पनि राम्रै भएको मन्दिर संचालक समितिका सदस्य
हिमनाथ खनालले बताउनुभएको छ ।
खानाका साथै खोरखोरे, गिलासफोर, जस्ता खेलका स्टलहरुले समेत मेलाको शोभा थपेको उहाँको भनाई छ ।मेला हेर्न मात्रै नभएर गर्मिमा शितल ताप्न र सेङलेङको चिसो एवम् स्वच्छ र रमणिय बातावरणमा रमाउन पनि नागरिकहरु त्यहाँ पुग्ने गरेको स्थानिय शुभ समालले बताउनुभएको छ ।
अर्घाखाँचीमा पर्यटकिय थुप्रै सम्भावनाका क्षेत्र भएरपनि ओझेलमा परेको तर अहिले जिल्लामा पत्रकार महासंघले पर्यटन विकासको उदेश्य राखेर संचालन गरेको पर्यटन प्रर्बद्धन अभियान पश्चात सेङलेङमा समेत अवलोकन गर्नेहरुको संख्यामा बृद्धि भएको उहाँको भनाई छ ।
भूमिकास्थान नगरपालिकाले पर्यटकिय हबको रुपमा चित्रित गरेको सेङलेङमा सत्यदेवी र बराह मन्दिरको साथसाथै माता पाथिभराको मन्दिर समेत स्थापना
गरि नियमित पुजाआजा गर्न थालिएको छ । होमस्टेमा बास बसेर अर्गानिक खाना खान पाइने, पाथिभरा माता र सत्यदेवीको दर्शन गरि सेङलेङ दह, मसिनाको लेक र आसपासका क्षेत्रबाट सुन्दर हिम श्रृङखलाको अवलोकन गर्न सकिने भएपछि अहिले सेङलेङमा आन्तरिक मात्र नभएर बाह्य पर्यटकहरु समेत बढ्न थालेका छन्।
चैतेदशै पर्वसँग जोडिएको सराय नाचको आफ्नै मौलिकता र धार्मिक एवम् सांस्कृतिक महत्व पनि रहेको सत्यदेवी÷बराह मन्दिर संचालक समिति सदस्य हिमनाथ खनालले बताउनुभएको छ । सराय नाच इतिहास भएको हुँदा यसको संरक्षण र प्रवर्द्धनमा युवापुस्ताले चासो दिनुपर्ने भूमिकास्थान–१० का अगुवाहरुको जोड रहेको छ ।
पुजारी खुविराम खनालका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्र मात्र छन् ।
आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्त प्रायः छन् । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू रहेको किंवदन्ती रहंदै आएको छ ।