Advertisement
विज्ञापन

नेपालमै पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री



Advertisement
विज्ञापन

आजबाट नेपालमै पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री सुरू भएको छ। सर्वोत्तम सिमेन्टले आजबाट बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गरेको हो। कम्पनीले संस्थागत योग्य लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर जारी गरिरहेको हो। यो कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता सेयरको ४० प्रतिशत हो।

कम्पनीले अब संस्थागत योग्य लगानीकर्तालाई ४ सय १ रूपैयाँदेखि ६ सय १ रूपैयाँको दरमा सेयर जारी गरेको छ। यसमा संस्थागत लगानीकर्ताले बोलकबोल गर्नेछन्।


Advertisement
Advertisement
Advertisement

बोलकबोलमा आवेदन दिएको अधिकतम मूल्य र सो अनुसारको कित्ता सेयर बाड्दै जाँदा जुन मूल्यमा पुगेर सेयर संख्या सकिन्छ, त्यही मूल्य ‘कट अफ प्राइस’ का रूपमा रहन्छ।

बोलकबोल मंसिर १० गतेसम्मको लागि खुला गरिएको छ। यसरी बोलकबोल गरेको सेयर संस्थागत लगानीकर्ताले खरिद गर्नैपर्छ। यसभन्दा अघि पनि संस्थागत लगानीकर्ताहरूले बुक बिल्डिङ प्रक्रियाबाट कम्पनीको मूल्य निर्धारणका लागि कम्पनीको सेयरमा बोलकबोल गरेका थिए।

यसरी पहिले गरेको बोलकबोल प्रक्रियामा सहभागी हुन कम्पनीले मूल्य दिएको हुन्छ। त्यो समय बोलकबोलमा भाग दिएर मूल्य निर्धारण गरिने भए पनि सेयर भने बाँडफाँट गरिएको हुँदैन।

सर्वोत्तमले सुरूमा ५ सय १ देखि ७ सय ५१ रूपैयाँ ५० पैसा मूल्य कोट गरेको थियो। त्यसमा भएको बोलकबोलबाट ४ सय १ देखि ६ सय १ रूपैयाँसम्म निर्धारण भएको हो।

अब संस्थागत योग्य लगानीकर्ताहरूले गर्ने बोलकबोलमा भने निस्किने कट अफ प्राइसभन्दा १० प्रतिशतले कम मूल्य राखेर दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरिन्छ।

दोस्रो चरणमा सर्वसाधारणका लागि ३६ लाख कित्ता सेयर जारी हुनेछ।कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ। सर्वोत्तम कम्पनीले बुक बिल्डिङ प्रक्रियामा आइपिओ जारी गर्न २०७९ असारमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

यसअघिका स्वार्थ बाझिने गरी बोर्ड अध्यक्ष लगायतले कम्पनीको सेयर खरिद गरेपछि यो कम्पनीको सेयर विवादमा परेको थियो। र, सेयर जारी प्रक्रिया लम्बिएको थियो।हाल धितोपत्र बोर्डबाट एक सय ३५ भन्दा धेरै संस्थाले संस्थागत योग्य लगानीकर्ताको अनुमति पाएका छन्।

योग्य संस्थागत लगानीकर्तामा सूचीकृत संगठित संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी लगायत छन्। यस्ता संस्थाको नेटवर्थ न्यूनतम १० करोड रूपैयाँ हुनुपर्छ।

इक्रा नेपालले कम्पनीलाई बिबिबी रेटिङ दिएको छ। कम्पनीले सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ। सुरूवातमा वार्षिक ४ लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने जडान गरिएकोमा हाल हाल कम्पनीबाट वार्षिक करिब एक करोड टन सिमेन्ट उत्पादन भइरहेको छ।

शौरभ समूहको मुख्य लगानीमा रहेको कम्पनीको नवरपरासीमा उद्योग सञ्चालनमा छ। कम्पनीले सर्वोत्तमको नामबाट ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीले १३ सय डिलर्स मार्फत् सिमेन्ट बिक्री गरिरहेको छ।कम्पनीले केही महिना अघि मात्रै आवश्यक पर्ने विद्युत पूर्ण रुपमा पाएको छ। यसले पनि कम्पनीको ऊर्जामा भइरहेको खर्चमा केही कमी आउनेछ।

आर्थिक वर्ष २०७९/८० सम्ममा सर्वोत्तमको नाफा ४६ करोड ७६ लाखबाट घटेर २० करोड ७५ लाखमा सीमित भएको छ। उत्पादन बिक्रीबाट ७ अर्ब ८८ करोड आम्दानी गरिरहेको कम्पनीको यस्तो आम्दानी ५ अर्ब ३८ करोडमा सीमित भएको छ। आर्थिक वर्ष २०७९/८० सम्ममा सर्वोत्तम सिमेन्टको प्रतिसेयर आम्दानी ५ रूपैयाँ १३ पैसा छ। प्रतिसेयर नेटवर्थ १ सय ८५ रूपैयाँ १९ पैसा छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad