गुल्मी थोर्गाको अर्गानिक खुदो र गुँड सबैको लोकप्रिय बन्दै
अनिष पन्थी, गुल्मी
गुल्मी जिल्लाको रुरु गाउँपालिका ३ थोर्गा गाउँ भन्ने बित्तिकै उखु, खुदो र गुड सम्झन सकिन्छ । थोर्गाको अर्गानिक खुदो र गुडले धेरैको मन लोभ्याउने गरेको छ। यहाँका मानिसहरूको मुख्य पेसा नै यहि बनेको छ । गाउँमा सामान्य उखु उत्पादन गर्ने धेरै भएता पनि वार्ड न ३ मा भने दुई घरले मात्र व्यावसायिक रुपमा खुदो र गुड बनाउदै बिक्री गर्दै आएको पाइएको छ ।
आधुनिक मेसिनको प्रयोग गरि त्यस वडाका इन्दुबर ज्ञवाली र चोलानाथ ज्ञवालीले व्यावसायिक रुपमा उखु खेती गरि उखुबाट खुदो र खुदोबाट गुड उत्पादन गरि स्थानीय बजारदेखि लिएर बुटवल काठमाडौ लगाएत देशका प्रमुख सहरमा गुड बिक्री गर्दै आएका छन ।
२०६५ सालदेखि आधिकारिक रुपमा व्यबसाय दर्ता गरि सञ्चालन गरेको बताउँदै उनले सुरुमा बजारको समस्या भए पनि अहिले बजारलाई कुनै समस्या नभएको स्थानीय व्यावसायि इन्दुबर ज्ञवालीले बताए ।
खुदोबाट मिठाई बनाउन खोजेको भए पनि कुनै प्राबिधिक ज्ञान नभएको कारण र मेसिन नभएको कारण केन्टी मिठाई उत्पादन गर्न नसकिएको व्यावसायि इन्दुबर बताउँछन ।
आधुनिक मेसिन प्रयोग गरि काम गर्न लागेको पाँच बर्ष भए पनि पहिलेदेखिनै गोरुको माध्यमबाट उखु पेलि खुदो बनाउदै आएको सोहि स्थानका आर्का व्यावसायि चोलानाथ ज्ञवाली बताउछन ।
धेरै उत्पादन यहि स्थानीय बजारमा खपत भएको बताउँदै यसबाट राम्रो आम्दानी गर्न सकिएको र यस पेशाप्रती सन्तुष्ट भएको चोलानाथको भनाइ छ ।गाउँपालिकाबाट कुनै अनुदान सहयोग नभएको बताउँदै सबै मेसिन निजि लगानीबाटै जोडिएको चोलानाथले बताए । यस सन्दर्भमा वडाध्यक्ष शेषनारायण पौडेलले अनुदानको कार्यक्रम आउनु अगाडिनै चोलानाथ ज्ञवालीले मेसिन जोडेको प्रतिक्रिया दिए ।
गएको बर्ष ५४ सय लिटर खुदो बिक्री गरिएको र बार्षिक १२ लाख आम्दानी गरेको चोलानाथको भनाइ छ ।
आर्थिक बर्ष २०७६/७७ र ७७/७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत वडा न .३ मा उखु ब्लक कार्यक्रम गरिएको वडाध्यक्ष शेषनारायण पौडेलले बताए । व्यवसाय विकासमा उखु ब्लक कार्यक्रमले धेरै प्रभाव पारेको वडाध्यक्ष पौडेलको भनाइ छ ।
गएको बर्ष सात सय ड्रम खुदो उत्पादन भएको र त्यसबाट राम्रो आम्दानी गर्न सकिएको वडाध्यक्ष पौडेलले बताए । त्यस वडामा सञ्चालन भएका व्यवसायवाट गाउँकै मान्छेले समय सापेक्ष अनुसार रोजगार पाउदै आएका छन ।
गाउँमै रोजगार पाएपछि बालबालिका सजिलै पढाउन सकिएको स्थानीय मिना अर्यालले वताइन । रुरुको थोर्गामा आउदा एकपटक पसेर यहाँको अर्गानिक खुदो र गुड चाख्न व्यावसायि र स्थानीयले आग्रह समेत गरेका छन ।