विदेशबाट फर्केका युवा व्यवसायिक गाईपालनमा

हुमाकान्त पोखरेल ।
गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक लाहाटाका ३५ वर्षीया लुल्सिराम कुँवर सात वर्ष विदेश बसे । उनले काजकिस्तान दुवई लगायतका देशमा खाना बनाउने काम गरे । विदेशमा आम्दानी पनि राम्रै हुन्थ्यो तर चार वर्ष पहिले गाउँ आएका उनको मन फेरियो । यसपछि उनले घर नजिकै जग्गा किनेर व्यवसायिक गाईपालन सुरु गरे ।

धनञ्जय कृषि तथा पशुपंक्षी फार्ममार्फत चार वर्षअघि चार गाईबाट व्यवसाय सुरु गरेका उनका गोठमा अहिले १३ गाई छन् । तीमध्ये १० ठूला र तीनवटा साना छन् । त्योमध्ये पनि चार दुहुनु र तीन ब्याउने गाई छन् । उनले दुई जर्सी र ११ होलिस्टिन क्रस गाई पालेका छन् । गाईपालनका लागि उन्नत जातका घाँससमेत उनले लगाएका छन् ।

एउटा गाईले औसतमा दैनिक १५ लिटरभन्दा बढी दूध दिने उनी बताउँछन् । सबै गाईको दैनिक ६० लिटर भन्दा बढी दूध उत्पादन गर्ने उनले दैनिक ३० लिटरजति स्थानीय बजारमा खपत गर्ने र बाँकी ३० लिटर तम्घास पठाउँछन् । स्थानीय बजारमा प्रतिलिटर रु ७० मा विक्री हुने दूध तम्घास पठाउँदा प्रतिलिटर ५४ रुपैयाँ पर्छ । “मासिक डेढदेखि दुई लाखसम्मको कारोबार हुन्छ, यसमा खर्च कटाउँदा पनि ४० हजार बचत हुन्छ”, उनले भने, “विदेशमा भन्दा कम बचत भए पनि सन्तुष्टि बढी छ ।” विदेशमा कमाएको रकम स्वदेशमा लगानी गर्नुभएका उनले व्यवसायमा सन्तुष्टि मिलेको बताए ।

व्यवसायिक गाईपालन गरेबापत गाउँपालिकाले प्रदान गर्ने उत्पादनमा आधारित अनुदान प्रतिलिटर रु तीनका दरले प्राप्त गर्छन् । त्यस्तै ०७५र७६ मा कृषि, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयबाट रु चार लाख प्राप्त गरे । सोही ठाउँकै ४० वर्षीया कमल पोखरेलले पनि १८ वर्ष रोजगारीकै लागि विदेशमा कटाए । १८ वर्षको हुँदा भारत गएका उनी दुबई पनि पुगे । त्यहाँ उनले खाना बनाउने र सफा गर्ने काम गरे । विदेशमा मासिक रु ८० कमाउने पोखरेलको रु ६० हजार बचत हुन्थ्यो । दुई वर्षअघि गाउँ आएका पोखरेलले गाउँमै भविष्य खोज्नुभयो र गाईपालन व्यवसाय सुरु गरे । करिब पाँच लाखको लागतमा १८ वटा गाई अट्ने संरचना बनाए ।

यसपछि वसन्त पशु फार्म खोलेर ६ ठूला गाई किनेर व्यवसाय सुरु गर्नुभएका व्यवसायी पोखरेलसँग अहिले सात ठूला गाई एवं तीन साना बाच्छा छन् । तीमध्ये पनि दुई दुहुने र पाँच ब्याउने छन् । अहिले दैनिक २० लिटर दूध उत्पादन भएको र सबै व्याउँदा ८० लिटरसम्म दुध उत्पादन हुने उनको भनाइ छ । अहिलेसम्म दैनिक ५५ लिटरसम्म दूध विक्री गरेको र भविष्यमा दैनिक १०० लिटरसम्म दूध विक्री गर्ने गरी योजना बनाएको उनले सुनाए ।

गाईपालनबाट वार्षिक रु २४ लाखको कारोबार हुने कमलको भनाइ छ । “सबै जग्गा आफ्नै भएकाले व्यवसायमा सहजता मिल्यो”, उनले भने, “विदेशको भिसा त्यागेर गाईपालनमा लागेको हुँ, सोचेभन्दा बढी सन्तुष्टि मिलेको छ ।”

सडक, नियमित बिजुली र पानीको असुविधा

तुलसीराम र कमलले उत्पादन गरेको दूध गाउँपालिकाको केन्द्र बर्बोटमा रहेको देविस्थान उन्नत दुग्ध सहकारी संस्था लिमिटेडमार्फत विक्री हुन्छ । उक्त संस्थाको व्यवस्थापकको जिम्मा उनले पाएका छन् । उक्त केन्द्रमा अन्य व्यक्तिले आफ्नो चाहनाअनुसार दूध बेच्न र किन्न सक्ने उनको भनाइ छ ।

गाईलाई दानाका लागि सहज ढुवानी एवं दूध बजारसम्म लैजान मोटरबाटो सहज बनाइदिन तुलसीरामले आग्रह गरे । सडकमा नाली नहुँदा एकपटक पानी आए बिग्रिने र त्यसपछि दूध लैजान तथा दाना ल्याउन अप्ठ्यारो पर्ने उनले बताए ।

गत जेठ र असारमा सडक बिग्रँदा २५ दिनजति दूध बेच्न नपाएको र त्यसबाट एक लाख २० हजार घाटा लागेको उनको भनाइ छ । “बाटो बिग्रेको पालिकालाई जानकारी गराउँदा पालिकाले सकेसम्म छिटै समाधान गर्ने प्रयास त गर्छ”, उनले भने, “नाली नहुँदा थप समस्या छ ।” त्यसका साथै स्थानीय बजारमै दूध खपतको व्यवस्था, नियमित बिजुली, सिँचाइका लागि पानी एवं नगद अनुदानको सट्टा दाना, मल र बीउमा अनुदान दिएमा दूध उत्पादनमा वृद्धि गर्न सकिने कुँवरको भनाइ छ ।

अर्का कृषक कमल पोखरेलले पालिकाकोतर्फबाट नियमित अनुगमन भएमा पनि आफूजस्ता कृषकलाई हौसला मिल्ने बताए । “फार्म वरिपरि जाली आवश्यकता छ, पालिकामा निवेदन दिएको छु”, उनले भने, “पालिकाका जनप्रतिनिधि र कर्मचारी फार्ममा आई सल्लाह सुझाव दिए पनि हौसला मिल्ने थियो ।” धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले विदेशको आम्दानी स्वदेशमै लगानी गरेकामा आफूखुसी भएको बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार