Advertisement
विज्ञापन

बुटवल उपमहानगरपालिका डम्पिङ साइट निर्माणमा चुक्दै



Advertisement
विज्ञापन

बुटवल । बुटवल उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि दीर्घकालीन रूपमा डम्पिङ साइट निर्माण गर्न नसक्दा स्थानीयसँग समय–समयमा विवाद हुने गरेको छ । डम्पिङ साइट निर्माण गर्न चुकेपछि कहिले कुन ठाउँमा त कहिले कुन ठाउँमा फोहर फाल्ने गरिएकोमा अहिले बुटवल उपमहानगरपालिका–११ को सिरान गाउँ मजुवाको बस्ती नजिकै फोहोर डम्पिङ गर्दै आएको छ ।

गत वर्ष त्यहाँका स्थानीयले पनि विरोध गर्दा विभिन्न सहमति गरेर थामथुम पारिएको थियो । अहिले फेरि स्थानीयहरूले नगरपालिकाले फोहर फाल्दा आफ्नो बस्तीमा दुर्गन्ध फैलिएको, स्वास्थ्यमा असर परेको लगायतमा विषय उठाउँदै आन्दोलन सुरु गरेका छन् । संघर्ष समिति नै बनाएर आन्दोलन गरेका स्थानीयले उपमहानगरपालिकाले पठाएको फोहरका गाडीसमेत रोकेका हुन् ।


Advertisement
Advertisement
Advertisement

उनीहरूले गाडी रोकेपछि अबको एक वर्षभित्रमा मजुवामा फोहर नफाली अन्यत्र ठाउँमा डम्प गर्ने सहमति भएको बुटवल उपमहानगरपालिकाको सरसफाइ तथा फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले रातोपाटीलाई बताए । फोहर डम्प गरेर स्थानीयको विरोधपछि सम्झौता भएको यो पहिलो अवसर भने होइन । यस्ता संघर्ष समिति पटक–पटक बन्ने र नगरपालिकाले उनीहरूका मागलाई सम्बोधन गर्न सहमति गरेका घटना धेरै छन् ।

तर अझै पनि उपमहानगरपालिकाले दीर्घकालीन रूपमा समस्या समाधान नगरी कहिले कुन ठाउँमा त कहिले कुन ठाउँमा फोहोर फाल्ने गर्दा स्थानीयहरू आजित भएको बुटवल देवीनगरका प्रेम श्रेष्ठले रातोपाटीसँग गुनासो गरे । बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक जीवनारायण अधिकारीले दीर्घकालीन समाधान नखोज्दा यस्ता समस्या प्रत्येक वर्ष जस्तो आउने गरेको बताए । उनले भने, ‘केही समय एक ठाउँमा फाल्ने अनि त्यहाँ ठुलो विरोध थेग्न नसकेपछि अर्को ठाउँ फाल्ने परम्परा नै गलत छ । दीर्घकालीन रूपमा डम्प गर्ने ठाउँमा उपमहानगरपालिकाले जोड गर्नुपर्छ ।’

हुन पनि बुटवल उपमहानगरपालिले सुरुमा तिनाउ छेउमा पर्ने हार्तिसुडमा फोहोर फाल्ने गरेको थियो । त्यसपछि लुम्बिनी वाणिज्य क्याम्पसपछाडि र त्यसपछि विभिन्न ठाउँ सार्दै पछिल्ला वर्ष मजुवा फोहोर फाल्न थालेको हो ।

स्थानीयबासी विनोद ढुङ्गानाले मानव स्वास्थ्यको ख्याल समेत नगरी फोहोर फाल्दा बस्ती पूरै दुर्गन्धित हुन पुगेको बताए । नदी किनारमा डम्पिङ गरिएको फोहोर बेला–बेलामा जलाउँदा आँखा नै पिरो हुने र धुवाँको मुस्लोले बस्ती नै ढाकिने गरेको स्थानीयको भनाइ छ । सिरान गाउँ मजुवामा फोहोर फाल्दा त्यसबाट प्रत्यक्ष मजुवा, प्रवेश नगर, धुव्रनगर, दुर्गा नगर, भगवती टोल, शिवालय टोल प्रभावित भएका छन्।

सोही स्थानमा रहेको सूर्योदय आधारभूत विद्यालय समेतमा दुर्गन्ध फैलिने गरेको स्थानीयबासी एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कँडेले बताए । उक्त विद्यालयमा १८० जना विद्यार्थी रहेका छन् । बुटवलका विभिन्न टोलबाट सङ्कलन भएको फोहर अन्तिम फाल्ने ठाउँ यही मजुवा हो ।

स्थानीयको विवाद गर्दा एडिबीले हात झिक्यो
बुटवलमा अहिले दैनिक ७५ टन फोहोर उत्पादन हुँदै आएको छ । पछिल्लो समय जनसङ्ख्या वृद्धिसँगै समस्या थपिने क्रममा रहेको छ । तर बुटवल उपमहानगरपालिका भने अझै सम्म डम्प गर्ने दीर्घकालीन ठाउँ निर्धारण गर्न सकेको छैन ।

बुटवल उपमहानगरपालिकाले संस्थागत रूपमा फोहोर व्यवस्थापन गर्न धेरै वर्ष पहिलेदेखि नै प्रक्रिया अगाडि बढाएको बुटवल उपमहानगरपालिका पूर्वमेयर एवं हाल प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बताए । तर फोहरको लागि जग्गा नै उपलब्ध नहुने, भइहाले पनि स्थानीयको विरोधले डम्पिङ साइट निर्माण गर्ने बेला अन्तिम अवस्थामा फिर्ता हुने गरेको उनको भनाई छ ।

बुटवलमा फोहर प्रशोधन लागि एसियाली विकास बैंकले लगानी सम्झौता गरेको थियो । तर स्थानीय विवाद, जग्गा व्यवस्थापनमा गर्न समस्याजस्ता कमजोरीका कारणले एडीबीले नगरपालिकासँग गरेको सम्झौताबाट हात झिकेको छ । बुटवल उपमहानगरपालिकाले सन् २०१० मा एडिबीसँग फोहोर प्रशोधन केन्द्रका २८ करोडको सम्झौता गरेको थियो । त्यसपछि फोहोर मैला प्रशोधन केन्द्रका लागि उपमहानगरपालिकाले जेडआईईसी पप्पु जेभीसँग २५ करोड ६२ लाख ५३ हजार ५ सय ८४ रुपैयाँमा ठेक्का सम्झौता समेत गरेको थियो।

बुटवल–१५ को जितेश्वरी सामुदायिक वनमा योजना निर्माण गर्ने भनिए पनि स्थानीयको अवरोधपछि बुटवल देवीनगर राख्ने निर्णय भयो । तर स्थानीयले कडा विरोध गरेपछि काम रोकियो ।

त्यसपछि रुपन्देहीको देवदह नगरपालिकाको सिमाना जोडिएको शिवनगर सामुदायिक वनमा योजना निर्माण गर्ने निर्णय भयो । बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाका दुवै ठाउँबाट फोहोर राख्ने भनिए पनि दुई नगरपालिकाबिच समन्वयन नहुँदा परियोजना रोकिएको बुटवल नगरपालिका सरसफाइ तथा फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले रातोपाटीलाई बताए ।

त्यहाँ जग्गा सट्टा भर्नाको लागि पाल्पामा यम्घामा जग्गा समेत खरिद गरिएको थियो । शिव नगर सामुदायिक बनका रुख काट्दा नियमानुसार अर्को ठाउँमा रुख रोप्नु पर्ने भएकाले पाल्पा जग्गा खरिद गरिएको पोखरेले बताए ।

बुटवल नगरपालिकाका प्रवक्ता शिव रानाले फोहर व्यवस्थापनको लागि अहिले सूक्ष्म रूपमा जग्गाको खोजी गरिएको बताए । उनले बुटवल पश्चिमतिर जग्गाको खोजी भइरहेको खुलाए ।रासस



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad