Advertisement
विज्ञापन

सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल बल्ल खन्न थालियो



Advertisement
विज्ञापन

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यले बल्ल गति लिएको छ । २०७५ सालमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले देशका भिन्न ६ स्थानमा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको थियो । उक्त घोषणामा हालसम्म मृत्युमार्गको नामले परिचित बुटवल–पाल्पा सडकखण्ड अन्तर्गतको सिद्धबाबा सुरुङमार्ग समेत प्राथमिकतामा परेको थियो ।

तिनाउ गाउँपालिका २, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ १ हजार १२६ मिटर ९१।१२६ किलोमिटर० सुरुङमार्ग निर्माण गर्ने लक्ष्य छ । उक्त परियोजनाले घोषणाको ५ वर्षपछि बल्ल गति लिएको हो ।२०८० माघ ४ देखि सुरुङमार्गको मुख्य टनेल (सुरुङ) को उत्खननको काम सुरु भएको छ । चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको ठेक्का पाएकोमा बिहीबार एक सूचना जारी गर्दै नेपालस्थित चिनियाँ दूतावासले औपचारिक रुपमै सुरुङमार्गको काम अघि बढेको जनाएको छ।


Advertisement
Advertisement
Advertisement

निर्माण कम्पनीलाई बधाई दिँदै दूतावासले भनेको छ, ‘नेपालको पश्चिम सहर बुटवलसँग पाल्पा र पोखरालाई जोड्ने महत्त्वपूर्ण सडक सञ्जालमा सुरुङमार्ग बन्ने चरणमा प्रवेश गरेको छ । सधैँजसो पहिरो झर्ने र बाटो अवरोध हुने खतरापूर्ण सडकको स्तरोन्नति हुँदैछ । सुरुङमार्ग निर्माण पश्चात् स्थानीय आर्थिक विकासमा ठुलो सहयोग पुग्ने विश्वास छ ।’

सुरुङमार्गको मुख्य टनेल खन्ने काम थालनी भए पनि परियोजना भने २०७७ देखिनै सुरु भएको हो । ‘डिजाइन एण्ड बिल्ड’ मोडालिटीमा निर्माण हुँदै गरेको यस परियोजना राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षीय परियोजना हो । बहुवर्षीय ठेक्का मापदण्ड, २०७६ बमोजिम निर्माण कार्य अघि बढेको परियोजनाको समयावधि ५ वर्षको छ ।

चिनियाँ कम्पनीले सन् २०२७ मा परियोजना सम्पन्न गर्नुपर्ने सिद्धबाबा सुरुङमार्ग परियोजनाका प्रमुख रामपुकार जैसवालले जानकारी दिए।‘परियोजनाको काम अघिदेखि नै भइरहेको छ । साइट क्लियरिङ्ग, डिजाइन तथा अध्ययनको काम भइरहेको थियो । मुख्य टनेलको काम मात्र भर्खर सुरु भएको हो,’ परियोजना प्रमुख जैसवालले भने ।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमार्फत अघि बढेको यस परियोजनाको कुल लागत ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । मुख्य सवारी पास टनेलसहित तीन वटा सहायक (रेस्क्यू ) टनेल बन्ने छन् ।सिद्धबाबा–पाल्पा छेड्ने मुख्य टनेलको लम्बाइ १ हजार २६ मिटरको छ भने सहायक टनेलहरुको लम्बाइ २ हजार मिटरभन्दा बढी हुने परियोजना प्रमुख जैसवाल बताउँछन् ।

खासगरी बुटवल–पाल्पा सडक खण्ड अन्तर्गतको तल्लो सिद्धबाबा मन्दिरदेखि दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिमका कारण खतरापूर्ण छ । प्रायः बर्खा याममा पहिरो झरिरहने यो चट्टानी क्षेत्रमा हिउँदमा समेत सुक्खा पहिरोको उत्तिकै जोखिम छ । बर्सेनि सडक दुर्घटनाका कारण सयौँले ज्यान गुमाउँदै आएको यस क्षेत्रलाई मृत्युमार्गका नामले समेत चिन्ने गरिन्छ । यही समस्याको दीर्घकालीन निराकरणका लागि सरकारले आफ्नै लगानीमा सुरुङमार्ग निर्माण गर्न लागेको हो ।

परियोजनाको भौतिक प्रगति १० प्रतिशत १५ वर्षे निर्माण अवधि रहेको यस परियोजनाको हालसम्म १० प्रतिशत भौतिक प्रगति भइसकेको परियोजना प्रमुख जैसवालको भनाइ छ । राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएर २०७७ देखि नै परियोजनाको काम अघि बढेकोमा परियोजनाको भौतिक तथा प्राविधिक अध्ययन डिजाइनमा समय खर्चिएको उनको भनाइ छ ।

२०७५ मा घोषणा भएको सुरुङमार्ग निर्माणका लागि दुई वर्षपछि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत १० अर्ब १५ करोड रुपैयाँ बजेट छुट्याएका थिए । सोही बजेटका आधारमा सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले २०७८ मा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई उक्त सुरुङमार्ग निर्माणको ठेक्का दिएको हो ।

कुल ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ ठेक्का सम्झौता भएकोमा कम्पनीले ५ वर्षपछि सन् २०२७ मा निर्माण सम्पन्न गर्नुपर्ने छ । सोही परियोजनाको आजको दिनसम्म १० प्रतिशत भौतिक र करिब १२ प्रतिशत वित्तीय प्रगति भएको परियोजना प्रमुख जैसवालले बताए ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad