बुटवल-१५ मा भोलीदेखि प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने
बुटवल । बुटवलमा प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा आदर्श युवा क्लबको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं १५, रतनपुरको मुक्तिधाम खेलमैदानमा फागुन २७ गतेबाट हुने भएको हो ।
प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको क्लवका अध्यक्ष मनिष काफलेले बताए । वडा नं १५ स्थित सृजना युवा क्लबको संरक्षणमा रहेको नया मैदानलाई प्रचारप्रसार र प्रवद्र्धन गर्ने गरि खेल प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए। नगरका हरेक वडामा रहेका युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए । प्रतियोगिता आयोजना गर्न बुटवल उपमहानगरपालिकाबाट ४ लाख रुपैया सहयोग भएको उनले बताए ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक राजेन्द्र बुढाथोकीले बताए । यसैगरि उपविजेता टिमलाई नगद ५१ हजार १ सय ११ रुपैया कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । टिम निशुल्क दर्ताको ब्यवस्था गरिएको प्रतियोगितामा १९ वटा वडा सहभागी हुने उनले बताए । चैत ६ गतेसम्म संचालन हुने प्रतियोगितामा करीब ६ लाख खर्च हुने आयोजकको अनुमान छ ।