सिरियाली सेना र असद समर्थकहरूबिच भीषण झडप, दर्जनौँको मृत्यु
दमस्कस । सिरियाली राजधानी दमस्कसमा नयाँ सरकारप्रति वफादार सिरियाली सेना र अपदस्थ असद शासनका समर्थकहरूबिच भीषण लडाइँ भएको खबर आएको छ ।देशको उत्तरपश्चिमी तटीय क्षेत्रमा रहेको रुसी नियन्त्रित एयरबेस नजिकै रहेको लताकिया प्रान्तमा भएको झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको बताइएको छ । डिसेम्बरमा बसर अल–असदको पतन पछि सिरियाको इस्लामवादी सरकारसँग सम्बद्ध सेनासँगको यो सबैभन्दा हिंसात्मक झडप हो । मारिएका मानिसहरूको संख्याको बारेमा फरक-फरक अनुमानहरू आइरहेका छन् । स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले एउटा समाचारमा भनेको छ । बिहीबार राति, सिरियास्थित स्टेप समाचार एजेन्सीले समाचार छापेअनुसार सरकार समर्थक सेनाको आक्रमणमा लगभग ७० पूर्व सरकारी लडाकुहरू मारिएका छन भने २५ भन्दा बढीलाई जाब्लेह र वरपरका क्षेत्रहरूमा पक्राउ गरिएको छ ।१६ सरकारी सुरक्षाकर्मी, २८ असद समर्थक लडाकु र चार नागरिक सहित जम्मा ४८ जनाको मृत्यु भएको एएफपी समाचार एजेन्सीले एक युद्ध पर्यवेक्षकलाई उद्धृत गर्दै भनेको छ । सिरियाली रक्षा मन्त्रालयका प्रवक्ता कर्नेल हसन अब्दुल घानीले राज्य सञ्चार माध्यम मार्फत लताकियामा लडिरहेका असद समर्थकहरूलाई चेतावनी दिएका छन्