लुम्बिनीमा जसपाका मन्त्री अहिरले दिए राजीनामा
बुटवल । जनता समाजवादी पार्टीबाट लुम्बिनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट शनिबार राजीनामा दिएका हुन् ।
जसपा प्रदेश अध्यक्ष अशोक यादवले सत्ता गठबन्धन र जसपाबिच ७ बुँदे सहमति भएको र मुख्यमन्त्रीले दुई मन्त्रालय दिने लिखित सहमति उल्लङ्घन गरेकाले सरकारबाट फिर्ता हुने निर्णय गरेको बताए । सरकारबाट मन्त्री फिर्ता भएपनि समर्थन भने कायम रहने उनले बताए ।
मुख्यमन्त्री र गठबन्धनका दलले सहमति उल्लङ्घन गरेर गठबन्धनको मूल्य मान्यता र मर्म विपरीत गएकाले उनीहरूलाई नैतिकता सिकाउन आफूहरूले सरकारबाट बाहिरिने निर्णय गरेको अहिरले बताए । सरकारलाई दिएको समर्थन भने कायमै रहने उनले बताए ।
लुम्बिनीमा जसपाका तीन सांसद छन् । यदि जसपाले समर्थन फिर्ता लिए ४५ सांसद अर्थात् बहुमत कायमै रहन्छ । यद्यपि सरकारको स्थिरतामा भने अन्यौलता सिर्जना भएको छ ।