यू-१९ विश्वकप : आज नेपाल र न्यूजिल्यान्ड भिड्दै
काठमाडौँ ।दक्षिण अफ्रिकामा आईसीसी यू-१९ विश्वकपमा आज (आइतबार) नेपाल न्युजिल्यान्डसँग भिड्दै छ। पूर्वी लन्डनस्थित बफेलो पार्कमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ।यू–१९ मा नेपाल र न्युजिल्यान्ड तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघिका दुवै खेलमा नेपालले न्युजिल्यान्डलाई हराएको छ।
सन् २०१६ पछि फेरि यी दुई टोलीबीच भेट हुने भएको हो।एसिया कप खेलेको टोलीबाट मुख्य प्रशिक्षक जगत टमाटाले दुइ खेलाडी परिवर्तन गरेका छन्।तीव्र गतिका बलर हेमन्त धामी चोटका कारण बाहिरिँदा उनको स्थान तीव्र बलर दुर्गेश गुप्ताले लिएका छन्। टोलीमा अलराउन्डर दीपक बोहोरा थपिएका छन्।
नेपालले ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको हो। नेपालले पछिल्लोपटक सन् २०१६ मा बंगलादेशमा विश्वकप खेलेको थियो।नेपालको यो आठौँ विश्वकप हो। नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।नेपालले समूह चरणको दोस्रो खेल माघ १० गते पाकिस्तानसँग र समूह चरणको अन्तिम खेल १२ गते अफगानिस्तानसँग खेल्ने तालिका छ।
विश्वकप तयारीका लागि नेपालले दक्षिण अफ्रिकामा चार अभ्यास खेल खेलेको थियो। तीमध्ये तीन खेलमा नेपाल विजयी हुँदा एक खेल भने वर्षाका कारण रद्द भएको थियो।समूह डीअन्तर्गत शनिबार भएको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनको फराकिलो अन्तरले हराएको थियो।
नेपाली यू-१९ टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द
हेड टु हेड
यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीच तेस्रोपटक भेट हुने भएको हो।नेपाल र न्युजिल्यान्ड अन्तिमपटक सन् २०१६ मा भिडेका थिए। बंगलादेशको फतुल्लाहमा भएको प्रतिस्पर्धामा नेपालले न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो।नेपालले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४७.१ ओभरमा २ सय ६ रन बनाउँदा अलआउट भयो।
यसअघि यू-१९ विश्वकपमै यी दुई टोलीबीचको पहिलो भेट सन् २००६ मा भएको थियो। त्यस वर्ष फेब्रुअरीमा कोलोम्बोमा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई १ विकेटले हराएको थियो।न्युजिल्यान्डले दिएको २०५ रनको लक्ष्य नेपालले २ बलअगावै भेट्टाएको थियो।