प्रधानमन्त्री कपमा एपीएफको लगातार तेस्रो जित
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा एपीएफले लगातार तेस्रो जित हात पारेको छ । ८ टिम सहभागी जारी प्रतियोगिताका लगातार तेस्रो खेल जित्ने एपीएफ र कोशी मात्रै हुन् ।आफ्नो तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ९० रनले हराउँदै एपीएफले प्रतियोगितामा जितको यात्रा कायम राखेको हो ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो ।राष्ट्रिय टिमकी कप्तान इन्दु बर्माले एपीएफका लागि अलराउन्डर प्रदर्शन गरिन् । ब्याटिङमा ७० रनमा अविजित रहेकी इन्दुले बलिङमा ३ विकेट लिइन् ।ओपनर ममताले ५८ बलमा ५ चौका सहित ५९ रनको अर्धशतकीय पारी खेलिन् ।
लुम्बिनीका लागि सरस्वती पुन र शर्मिला रोक्काले समान १–१ विकेट लिए ।एपीएफले दिएको १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रनमै सिमित भएको हो ।लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले २८ रन बनाइन् । उनले ४९ बलमा २ चौका प्रहार गरेकी हुन् । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाएनन् ।
एपीएफकी बर्माले ३ सँगै बिनु बुढाले २ विकेट लिइन् । रेखा रावल, करुणा भण्डारी र सीता राना मगरले समान १–१ विकेट लिए । एपीएफले यसअघि मधेश प्रदेशलाई १० विकेट र सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो ।आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरे पनि लुम्बिनी दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशसँग ९ विकेटले पराजित भएको थियो ।