Advertisement
विज्ञापन

एसीसी यू-१९ एसिया कप क्रिकेट : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य



Advertisement
विज्ञापन

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रवार नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनायो ।नेपालका लागि उत्तम रंगु थापामगरले सर्वाधिक ५१ रन बनाए । दिपेश कँडेलले पनि ३१ रनको योगदान गरे । ओपनर अर्जुन कुमालले २१ रन बनाए ।

नेपालले अतिरिक्त रूपमा २१ रन पायो । नेपालका माथिल्लो क्रमका ब्याट्सम्यान खासै चल्न सकेनन् ।पाकिस्तानी टोलीका बलर मोहम्मद जिसन सबैभन्दा प्रभावकारी ठहरिए । उनी एक्लैले ६ विकेट लिएका थिए । उनले ९.२ ओभरमा एक मेडन राख्दै केवल १९ रन खर्चिएका थिए । अमिर हसनले पनि दुई विकेट हात पारे । उबैद शाह र अली असफान्दले पनि एक-एक विकेट लिए । नेपालले अन्तिम विकेटका रूपमा आकाश चन्दलाई पाँच रनमा गुमाएको थियो । उनलाई पनि जिसनले नै बोल्ड गरेका थिए । सुवास भण्डारी आठ रनमा अविजित रहे ।


Advertisement
Advertisement
Advertisement

यूएईको दुबइस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले तिलक भण्डारीका रूपमा पहिलो विकेट गुमाएको थियो । तिलक नौ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर अमिर हसनले विकेटकिपर साद बेगद्वारा क्याच गराएका थिए । तिलक आउट हुँदा नेपालले २.२ ओभरमा १० रन बनाएको थियो ।
दोस्रो विकेटका रूपमा नेपालले आकाश त्रिपाठीलाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका आकाश २२ बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर उबैद शाहले एलबीडब्लूको धरापमा पारेका थिए । ७.४ ओभरमा उनी आउट हुँदा नेपालले २५ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रूपमा कप्तान देब खनाललाई गुमाएको थियो । १३ बलको सामना गरेका उनले खातासम्म खोल्न सकेनन् । चौथो नम्बरमा क्रिज समाल्न आएका देबलाई पाकिस्तानी बलर मोहम्मद जिसनले अली असफान्दद्वारा क्याच गराएका थिए । ११.४ ओभरमा उनी आउट हुँदा नेपालले ३३ रन बनाएको थियो ।

चौथो विकेटका रूपमा नेपालले ओपनर ब्याट्सम्यान अर्जुन कुमाललाई गुमाएको थियो । ओपनर ब्याट्सम्यान अर्जुन ३७ बलमा तीन चौकाको मद्दतले २१ रन बनाउँदै आउट भएका थिए । १६औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४३ रन बनाएको थियो । अर्जुनलाई पाकिस्तानी बलर मोहम्मद जिसनले विकेटकिपर साद बेगद्वारा क्याच गराएका थिए । जिसनले लिएको यो दोस्रो विकेट थियो ।

नेपालले पाँचौँ विकेटका रूपमा गुल्सन झालाई गुमाएको थियो । राष्ट्रिय टोलीका प्रभावशाली सदस्य समेत रहेका गुल्सन चार बलमा एक रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर अली असफान्दले बोल्ड गरेका थिए । १७औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले पाँच विकेट गुमाएर ४६ रन बनाएको थियो ।

छैटौँ विकेटका रूपमा नेपालले दिपेश कँडेललाई गुमाएको थियो । उनी ३१ रन बनाउँदै आउट भएका थिए । उनले जिम्मेबारीपूर्वक खेल्दै ५९ बलको सामना गरी एक छक्का र दुई चौका पनि प्रहार गरेका थिए । दिपेश आउट हुँदा नेपालले ३३.४ ओभरमा एक सय १४ रन बनाएको थियो ।

दीपेश र उत्तम रंगु थापामगरले नेपालका लागि ६८ रनको साझेदारी गरेका थिए । दिपेशलाई पाकिस्तानी बलर मोहम्मद जिसनले विकेटकिपर साद बेगद्वारा क्याच गराएका थिए । जिसनले लिएको यो तेस्रो विकेट थियो । यसका अतिरिक्त पाकिस्तानी विकेटकिपरले लिएको यो तेस्रो क्याच पनि थियो ।

नेपालले सातौँ विकेटका रूपमा विशालबिक्रम केसीलाई गुमाएको थियो । उनी नौ बलमा केवल एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी पाकिस्तानी बलर मोहम्मद जिसनको बलमा सामल हुसैनद्वारा क्याच भएका थिए । जिसनले लिएको यो चौथो विकेट थियो । चार विकेट लिँदासम्म उनले सात ओभरमा एक मेडन राख्दै केवल १३ रन खर्चिएका थिए । विशाल आउट हुँदा नेपालले ३५.४ ओभरमा एक सय १९ रन बनाएको थियो ।

आठौँ विकेटका रूपमा विपिन रावल आउट भएका थिए । नौ बलको सामना गरेका विकेककिपर ब्याट्सम्यान विपिनले खातासम्म खोल्न सकेनन् । ३८औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय २८ रन बनाएको थियो ।

विपिनको विकेट पाकिस्तानी बलर मोहम्मद जिसनले लिएका थिए । जिसनले लिएको यो पाँचौँ विकेट थियो । जिसनले फालेको बल ‘नो बल’ भएको भन्दै थर्ड अम्पायरले निर्णयमा केही समय लगाएको थियो । पाँचौँ विकेट लिँदा जिसनले आठ ओभरमा केवल १५ रन खर्चिएका थिए ।

नवौँ विकेटका रूपमा नेपालले उत्तम रंगु थापामगरलाई गुमाएको थियो । उनी ५१ रन बनाउँदै आउट भएका थिए । उनले ७६ बलको सामना गरी दुई छक्का र तीन चौका पनि प्रहार गरेका थिए । उनलाई पाकिस्तानी बलर अमिर हसनले आफ्नो बलमा आफैले क्याच लिएका थिए । अमिर हसनले लिएको यो दोस्रो विकेट थियो । उत्तम आउट हुँदा नेपालले ३९.५ ओभरमा एक सय ३५ रन बनाएको थियो ।

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका छन् । नेपाली टोलीले समूहको तेस्रो तथा अन्तिम खेल बलियो टेस्ट राष्ट्र भारतसँग आगामी मंगलबार खेल्नेछ ।

प्रतियोगिताको समूह ‘बी’ मा भने बंगलादेश, जापान, श्रीलंका र आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । दुबै समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ तारिखमा हुनेछ ।

यू-१९ एसिया कप क्रिकेटलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटको तयारीका रूपमा लिइएको छ । यू-१९ विश्वकप सन् २०२४ को जनवरी १३ देखि फेब्रुअरी ४ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना हुँदैछ ।

नेपाली टोलीले मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्दै यू-१९ एसिया कपमा स्थान बनाएको थियो । एसीसी यू-१९ प्रिमियर कपमा उपविजेता बनेको यूएई र तेस्रो स्थानमा रहेको जापान पनि यू-१९ एसिया कपमा छनोट भएका थिए ।

यसैगरी नेपाली टोलीले यूएईलाई उसैको घरेलु मैदानमा हराउँदै यू-१९ विश्वकपमा स्थान पक्का गरेको थियो । यू-१९ विश्वकपमा भने नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad