
नेकपा एमालेले चामल लगायतका खाद्यान्न बाड्न लागेको समयमा प्रहरीले जफत गरेको छ । जिल्लाकाे इस्मा गाउँपालिका वडा नम्बर ६ अम्मपुरमा नेकपा एमालेले चामल र दाल लगायतका अन्य खाद्यान्न बाड्न लागेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. २ ले एमालेले मतदाताहरूलाई प्रभावमा पार्न ट्रकमा खाद्यान्न ल्याएको बताएको छ । क्षेत्र नं. २ का क्षेत्रीय सभापति चन्द्रबहादुर महतले एमालेले मतदाताहरूलाई वितरण गर्न चामल, दाल, तेल, नुन र भुजासहितका खाद्यान्न ल्याएको बताए ।
इस्मा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट हीरा एसले उम्मेदवारी दिएका छन् ।पूर्वमन्त्री एवम् एमालेका नेता गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा पर्ने इस्मा गाउँपालिकामा खाद्यान्न वितरण गर्न एमालेले ल्याएको भनेर होहल्ला भएपछि प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको थियो ।
अम्मरपुरकाे अर्चले भन्ने स्थानमा खाद्यान्नले भरिएको ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी भीम दाहालले जानकारी दिए । उनका अनुसार खाद्यान्नले भरिएको ट्रक नियन्त्रण लिएको अनुसन्धानका क्रममा रहेको छ ।एसपी दाहालले एउटा घर नजिकै ट्रकलाई फेला पारेका बताउँदै सो घरका धनीले खाद्यान्न र ट्रक अस्वीकार गरेको बताए ।स्राेत :गुल्मी पुकार