उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात
२०४९
गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिए । ‘‘लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो, उनले भने ‘‘दुई दिन अगाडि सामान्य हिउँ परेको भए तापनि अहिले परेको हिउँ यो यामनै सबैभन्दा ठूलो हिमपात हो ।’’नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फ गाउँ साम्दोदेखि तलसम्म रहेको सामागाउँ र स्यालासम्म हिउँ परेको लामाको भनाइ छ । मध्यराति १२ बजेदेखि सुरु भएको हिमपात लगातार परिरहेको छ । साम्दोमा जमिनबाट करिब एक फिटभन्दा माथिसम्म हिउँ जमेको छ । तल स्याँलासम्म हिउँ परेको छ ।
भारी हिमपातका कारण नुब्री भ्याली, सामागाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ । टेलिफोन र इन्टरनेट सेवामासमेत समस्या भइरहेको लामाले बताए ।