Advertisement
विज्ञापन

भारतका माओवादी के गर्दैछन् त ?



Advertisement
विज्ञापन

७ नोभेम्बर विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा विशेष महत्व बोकेको दिन हो । त्यस दिन रुसमा लेनिनको नेतृत्वमा बोल्सेभिक क्रान्ति सम्पन्न भएको थियो, जो ‘अक्टोबर क्रान्ति’को नामले चिनिन्छ । त्यसपछि पूर्वी युरोपका अनेकौं मुलुकहरू, भियतनाम, चीन र उत्तर कोरियाजस्ता मुलुकहरूले त्यही बाटो पछ्याएका थिए । आज न त सोभियत संघ छ, न पूर्वी युरोपका मुलुकहरूमा साम्यवादी शासन छ, न त चीन नै बोल्सेभिक क्रान्तिले देखाएको मार्गमा छ ।

लेनिन र माओले प्रतिपादित गरेको क्रान्तिको मार्गको अनुशरण गर्ने पेरुको ‘साइनिङ पाथ’को मूलतः अवसान भैसकेको छ । मार्क्सवाद र लेनिनवादलाई आधार मानेर फार्क नामले चिनिने रिभोल्युशनरी आम्र्ड फोर्सेज् अफ कोलम्बियाले सञ्चालन गरेको विद्रोही समूहले पनि हतियार समर्पण गरेपछि २०१६ मा अन्त भएको छ । टर्कीका माओवादीहरू आफ्नो अस्तित्वका लागि संघर्षरत छन् भने र लगभग आधी शताब्दीदेखि छापामार युद्ध सञ्चालन गरेका फिलिपिन्सका माओवादीहरू पनि सानो भूगोलमा मात्र सीमित छन् ।


Advertisement
Advertisement
Advertisement

यता दक्षिण एसियाली माओवादीहरूको संगठन कम्पोसाले १९९० को दशकमा दक्षिण एशियालाई क्रान्तिको तुफानी केन्द्रका रुपमा परिभाषित गरेको थियो । नेपालका माओवादीहरूको नेतृत्वमा सञ्चालन भएको सशस्त्र संघर्षको अन्त भैसकेको छ भने भारतका माओवादीहरू आफ्नो अस्तित्व रक्षाका लागि संघर्षरत् छन् ।

७ नोभेम्बर अक्टोबर समाजवादी क्रान्तिले १०४ वर्ष पुरा गर्दा त्यसैलाई आदर्श मानेर सञ्चालन गरिएको भारतीय माओवादी आन्दोलनको अवस्था के छ भन्नेबारे अगाडिका पंक्तिहरूमा संक्षिप्त चर्चा गरिएको छ ।

भारतको माओवादी आन्दोलन पाँच दशक पुरानो हो । चारु मजुमदारको सन् १९७२ मा गिरफ्तारी र हिरासतमा दिइएको यातनाबाट मृत्यु भएपछि आन्दोलनले ठूलो क्षति बेहोरेको थियो । नक्सलवादीहरूको व्यापक दमनपछि राज्यले नक्सलवाडी आन्दोलन अन्त हुने अपेक्षा गरेको थियो । तर असीको दशक लगत्तै कोण्डापल्ली सितारमैयाको नेतृत्वमा दक्षिणी राज्य आन्ध्रप्रदेशबाट माओवादी आन्दोलनले पुनर्जीवन प्राप्त गरेको थियो । सन् २००४ मा एमसीसीको नामले चिनिने माओइस्ट कम्युनिष्ट सेन्टर पनि माओवादी आन्दोलनमा मिसिएपछि यसले तीव्रता प्राप्त गरेको थियो । कांग्रेस नेतृत्वको मनमोहन सिंह सरकारको कार्यकालमा माओवादीहरूमाथि चौतर्फी दमन भएपछि आन्दोलन क्रमशः कमजोर हुन पुग्यो ।

हाल भारतीय माओवादी आन्दोलन अत्यन्त रक्षात्मक अवस्थामा छ । धेरै केन्द्रिय नेताहरू अहिले जेलमा छन् । केही वर्ष यता शहरी क्षेत्रमा जनाधार विस्तार गर्ने जिम्मामा रहेका नेताहरूको गिरफ्तारीपछि आन्दोलन अझै संकटमा परेको देखिन्छ । यसबीच भारत सरकारले माओवादीहरूको वेभसाइट बेन्डथट्स डटकम माथिसमेत प्रतिबन्ध लगाएपछि आन्दोलनसम्बन्धी गतिविधि र सूचनाहरू बाहिर आउन पनि बन्द प्रायः छ ।

बितेको एक दशकका प्रत्येक वर्षहरूमा माओवादीहरूले नबिराइकन सशस्त्र प्रहरीहरूमाथि वर्षमा एक पटक ठूलो फौजी कार्वाही गर्ने गरेका छन् । यस्ता हरेक फौजी कार्वाहीमा केही दर्जन सुरक्षाकर्मी मारिने गरेका छन् । उनीहरूको त्यो फौजी कार्वाही दिल्लीका सञ्चारमाध्यममा केही दिनका लागि चर्चाको विषय बन्ने गरेको छ । त्योबाहेक भारतीय माओवादीहरूको प्रभाव भारतको राष्ट्रिय राजनीतिमा देखा पर्दैन ।

प्रभाव क्षेत्रका हिसाबले हेर्दा पनि छत्तीसगढ, झारखण्ड, महाराष्ट्र उडिसाका केही आदिवासी जिल्लाहरूका सीमित क्षेत्रमा बाहेक माओवादीहरूको अन्यत्र उपस्थिति देखिन्न । एक सय चालीस करोडको विशाल जनसंख्या रहेको भारतमा ५० वर्षको संघर्ष र ठूलो बलिदानका वावजुद् माओवादीहरूको उपस्थिति र प्रभाव एकाध लाख जनसंख्यामा सीमित हुनुबाट आन्दोलन गम्भीर संकटबाट गुज्रिरहेको स्पष्ट हुन्छ ।

रुसमा कम्युनिष्ट पार्टीको स्थापना भएको दुई दशकभित्रै वोल्सेभिकहरूले सत्ता आफ्नो हातमा लिएका थिए । चीनमा कम्युनिष्ट पार्टीको स्थापनापछिको अढाई दशकमै जनवादी क्रान्ति सम्पन्न भएको थियो । तर भारतमा आधी शताब्दीपछि पनि माओवादी आन्दोलन छत्तीसगढको दण्डकारण्य जंगलभित्रका गाउँ र त्यस वरपरको भूगोलका केही गाउँहरूमा मात्र सीमित छ । निकट वा सुदूर भविष्यमा आन्दोलनले गति लिने कहीं कतै संकेत देखिंदैन ।

क्रान्ति वा सामाजिक परिवर्तन समाज विज्ञानको अकाट्य नियम हो । तर क्रान्तिका लागि वस्तुगत र आत्मगत दुवै परिस्थिति अनुकूल हुनुपर्दछ । रुसमा वोल्सेभिकहरूको नेतृत्वमा क्रान्ति सम्पन्न हुनुका पछाडि जार शासकहरूको पहिलो विश्वयुद्धमा संलग्नतालाई लिन सकिन्छ, जसले गर्दा त्यहा मजदुर किसान र सैनिकहरू जारको विरुद्ध खडा हुन पुगे । युद्धबाट जर्जर बनेका बेलायत फ्रान्सजस्ता रुसका मित्र शक्तिहरूले पनि जारको सत्ता जोगाउन सक्ने स्थिति रहेन । किनकी ती मुलुकहरू आफै युद्धबाट कमजोर बनेका थिए । घरेलु र बाह्य परिस्थिति बोल्सेभिकहरूको अनुकूल थियो ।

चीनको क्रान्ति दोस्रो विश्व युद्धलगत्तै सम्पन्न भएको थियो । त्यतिखेर पनि विश्वका बेलायत, अमेरिका, जापान, जर्मनी जस्ता शक्तिहरू युद्धमा फसेका थिए । च्याङ काई शेकको सत्ता आन्तरिक रुपमा चीनिया जनता र अन्तर्राष्ट्रिय शक्तिहरूको समर्थन नभएपछि कमजोर बनेको थियो । यसै अनुकूल घरेलु र बाह्य अवस्थाका कारण कम्युनिष्टहरूको जीत सम्भव भएको थियो ।

एकोहोरो रूपमा फौजी कार्यदिशामा मात्र जोड दिनु र जनतालाई सचेत र संगठित गर्ने संसदीय विधिसहित संघर्षका अन्य रूपहरूप्रति देखाएको संकीर्णता नै भारतीय माओवादी आन्दोलनको संकुचनको मुख्य कारण रहेको देखिन्छ । गाउँबाट शहर कब्जा गर्ने र स्थानीय सत्ता कब्जा गर्दै केन्द्रिय सत्ता कब्जा गर्ने चिनिया कम्युनिष्टहरूले अस्सी–नब्बे वर्ष पहिले प्रयोगमा ल्याएको रणनीति हो । समय सापेक्ष नयाँ रणनीतिको तर्जुमा बिना भारतीय माओवादी आन्दोलन टिक्न र विकसित हुन सम्भव देखिन्न ।

पेरुको कम्युनिष्ट आन्दोलनको आज नामोनिशान नरहनु र कोलम्बियाको फार्क विद्रोह समाप्त हुनु, टर्की, फिलिपिन्स, श्रीलंका आदिका असफल विद्रोहहरूको एउटा मुख्य शिक्षा यो पनि हो । नेपालको माओवादी आन्दोलन पनि सशस्त्र स्वरुपमै जारी राख्न सम्भव नभएपछि सम्झौतामा गएर टुंगिएको हो ।

विश्वको आर्थिक सामाजिक र राजनैतिक स्वरुपमा बितेका एक सय वर्षमा ठूलो परिवर्तन आएको छ । विश्व बहुध्रुवीय बन्न पुगेको छ । साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूको अन्तरविरोध पनि पुरानै अवस्थामा छैन । आजको श्रमिक वर्गको आर्थिक सामाजिक अवस्था पनि अठारौं र उन्नीसौं शताब्दीको श्रमिकवर्गको जस्तो छैन । श्रमिक र पूँजीपति वर्गको बीचमा रहेको मध्यमवर्गको आकार विशाल छ । यो वर्ग आज विश्वव्यापी रूपमा शक्तिशाली वर्गका रूपमा रहेको छ । यसले के देखाउँछ भने श्रमजीवी वर्गको मात्र समस्या उठाएर अब पुग्दैन, विशाल मध्यवर्गलाई पनि क्रान्तिले सम्बोधन गर्न सक्नुपर्दछ ।

आज विश्वभरि नै उत्पादनको क्षेत्रभन्दा सेवाक्षेत्र बढी शक्तिशाली छ । उत्पादनमा लागेको पूँजी र श्रमिकको भन्दा सेवाक्षेत्रमा लागेको पूँजी र जनशक्तिको आकार धेरै ठूलो छ । भारतसहित विश्वभरि आएका यी महत्वपूर्ण आर्थिक राजनैतिक परिवर्तनहरूलाई हिसाब नगरी एक सय वर्ष पहिलेकै क्रान्तिको रणनीति र कार्यनीतिमा टाँसिएर क्रान्तिको विकास सम्भव छैन । आज ग्रामीण वर्गसंघर्षको नीतिको विकास जरुरी छ । किनकी अब विश्वमै शहरमा बस्ने जनसंख्याले क्रमशः गाउँको जनसंख्यालाई उछिन्दै छ । गाउँको ठूलो श्रमशक्ति शहरमा स्थानान्तर भएको छ । शहरमा जस्तै धेरैजसो गाउँहरूमा पनि विद्युत, सञ्चार र यातायातजस्ता सुविधा पुगेका छन् । कृषिमा यन्त्रहरूको प्रयोग बढ्दो छ ।

रुस वा चीनमा क्रान्ति हुँदा जुन विश्व परिवेश विद्यमान थियो, आज भारत र अन्य कुनै पनि मुलुकमा न त त्यस्तो घरेलु परिवेश छ, न विश्व परिवेश नै । बेलायती शासनको उत्तराधिकारीका रूपमा रहेको भारत विश्वकै तेस्रो ठूलो सैन्यशक्ति भएको महाशक्ति राष्ट्र हो । पञ्जाब, नागा, मिजो आदि विद्रोहहरू साम्य गर्न भारतीय राज्य सफल भएको छ । यस्तो अवस्थामा हतियारको बलमा भारतीय राज्य सत्तालाई उल्टाएर भारतमा कम्युनिष्ट शासनको स्थापना वा निरन्तरता सम्भव देखिन्नलक्ष्मण पन्त रातोपाटी डटकम

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad