पाकेर भित्राउन लागेको धानको बालामा भुस मात्र भएपछि….

असार ०४,चितवन। चितवनको रत्ननगर नगरपालिका– १, दुर्गामन्दिर टोलकी किसान अन्जु शर्माले पाकेर भित्र्याउने वेलाको धानको बालामा भुस मात्र भएपछि ट्याक्टर लगाएर खेत जोतेकी छिन् ।

ठेक्कामा लिएको नाै कट्ठा जमिनमध्ये करिब तीन कट्ठामा उनले २२ जेठमा ट्याक्टर लगाएकी हुन् । उनीहरूले स्थानीय साझाबाट किनेको सानो बिजी धानको बिउ लगाएका थिए । चितवनमा धानका लागि मल नपाएपछि जनकपुर आफन्तकोबाट मोटरसाइकलमा मल ल्याएर यो परिवारले धानमा राखेको थियो । झुलेको धानमा भुस मात्र भएपछि शर्मा परिवारले खेतमै धान नष्ट गरेको हो ।

परिवारमा के खाने भन्ने चिन्ता
मधेसी समुदायका उनीहरू चार दशकदेखि चितवनमा बस्दै आएका छन् । ५५ वर्षीया अन्जुको श्रीमानको आठ वर्षअघि क्यान्सरको कारण मृत्यु भएको थियो । छोरा रोशनकुमार शर्मा चितवनमै जन्मिएर/हुर्किएका हुन् । ३१ वर्षका रोशन अहिले बुबाले नै काम गर्दै आएको ठाउँमा उनी कार्यरत छन् ।

तर, कोरोना भाइरससँगैको निषेधाज्ञाका कारण उनले नियमित काम गर्न सकेका छैनन् । ज्यालादारीमा कृषि मेसिनरी उद्योगमा काम गर्दै आएका उनको नियमित उद्योग नखुल्दा आम्दानी रोकिएको छ । उनकी आमा अन्जुले भनिन्, ‘हाम्रो समुदायमा छोरा मान्छे बाहिर कमाउन जाने, छोरी मान्छेले घरको काम गर्ने भन्ने छ । त्यसैले श्रीमान् बिरामी भएपछि उनको उपचार र औषधिमा सहयोग हुने हिसाबले ठेक्कामा जमिन लिएर खेती गर्न थालेँ ।’ प्रतिकट्ठा दुई हजार रुपैयाँ उनीहरूले जमिनको भाडा तिर्नुपर्छ ।
विगतमा उक्त बारीमा मकै खेती गर्दै आएका उनीहरूले केही वर्ष अघिदेखि उक्त खेतमा धान लगाउन थालेका थिए । अन्जुले भनिन्, ‘मकै लगाउँदा धेरै मिहिनेत गर्नुपर्थ्याे । तर, धान लगाएपछि बेच्न पनि सजिलो भएको र मेसिनको पनि प्रयोग गर्न पाइएको थियो । अहिले त उत्पादनै भएन,’ रुँदै उनले भनिन् ।

बर्सेनि धान बेचेर यो परिवारले चामल खरिद गरेर खाने गरेको थियो । ‘घर पनि अरूकै हो । भण्डारण गर्ने ठाउँ नभएपछि धान बेचेको पैसाले चामल किनेर खाने गरेका थियौँ,’ आफ्नो जीवनमा यसअघि यस्तो कहिल्यै नदेखेको र नभोगेको उनीहरू बताउँछन् । ‘हामी आफैँले मिहिनेत गरेर खाएका छौँ । माग्न परेको थिएन,’ रोशनले भने, ‘यही जमिनमा अघिल्लो वर्ष करिब ४० हजारको धान बिक्री गरेका थियौँ । तर अहिले धान भित्र्याउने खर्च पनि नआउने भयो । त्यसैले बाध्य भएर ट्याक्टर लगाएका हौँ।’

सहयोगको आस
शर्मा परिवारले त्यसै दिन सबै जमिनमा ट्याक्टर लगाउने सोचेको थियो । तर, स्थानीयले जनप्रतिनिधिलाई देखाएमा सहयोग मिल्ने भनेपछि बाँकी खेतमा ट्याक्टर लगाएका छैनन् । तर, उनीहरूसँग बिउ किन्दाको रसिद, ठेक्काको सम्झौतालगायतको कागज स्थानीय तहले मागेका छन् । ‘१५ वर्षदेखि अरूको खेत गर्दैै आएका छौँ, अहिलेसम्म विश्वासमा काम गरेका छौँ । कागज कहाँबाट ल्याऊँ ? बिउ किन्दाको रसिद पछि काम लाग्छ भन्ने मलाई के थाहा ? धेरै कुराहरूको माग गरिएको छ । कसरी उपलब्ध गराउने होला ? मैले पढेलेखेको छैन । हाम्रो त सबै नोक्सान भयो, कम्तीमा पनि लागत रकम पाउन पाए चामल किनेर खान हुन्थ्यो,’ उनले भनिन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार