प्रकृति मृत्यु प्रकरणमा कलेजका उच्च अधिकारीसहित पाँचजना पक्राउ
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कलेजका उच्च पदाधिकारीसमेत छन्।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार, पक्राउ पर्नेमा कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, कलेजका प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ छन्।
यस्तै, सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पनि प्रहरी नियन्त्रणमा छन्। पक्राउलगत्तै उनीहरूलाई अदालतमा पेस गरिएको थियो।
भारतको उडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत प्रकृति लम्साल छात्रावासमा मृत भेटिएपछि नेपाली विद्यार्थीमाथि कलेज व्यवस्थापनले ज्यादतीपूर्ण व्यवहार गरेको थियो। उनीहरूलाई बलजफ्ती छात्रावासबाट निकालिएको थियो। त्यसक्रममा कुटपिट गर्नुका साथै अपमानजनक शब्द प्रयोग गरी गालीसमेत गरिएका भिडिओहरू सार्वजनिक भएका थिए। यसअघि केआईआईटीले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको थियो।