कुम्भमेलामा स्नान गर्न गएका तिर्थालुको गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
१९०९
बुटवल । रुपन्देहीको देवदहबाट भारतको कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेका छन् । कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् । देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले ३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको रातोपाटीलाई बताए ।
उनले भने, ‘पूर्व वडाध्यक्ष पनि अर्को गाडीमा जानुभएको रहेछ । उहाँको पनि मृत्यु भएको हामीले पनि थाहा पाएका छौँ, अन्य कुरा बुझ्ने काम हुँदैछ ।’ दुर्घटनामा घाइते हुनेहरूमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले ३ जनाको मृत्यु भएको भारतीय प्रहरीले पुष्टि गरेको जानकारी दिए । घटनाको विस्तृत विवरण बुझ्ने काम भइरहेको उनले रातोपाटीलाई बताए ।