Advertisement
विज्ञापन

भीम अस्पतालको सेवा लुम्बिनी प्रदेशकै दोस्रो स्थानमा



Advertisement
विज्ञापन

भैरहवा
भीम अस्पताल २५ वेडको स्वीकृत दरबन्दी जनशक्तिले सञ्चालनमा आए पनि १०० वेडमा सञ्चालन गर्दा समेत न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मूल्यांकनमा ९४ अंक प्राप्त गरेको छ । सीमित जनशक्ति र पूर्वाधारका बाबजुत बिरामीलाई प्रदान गर्ने गरेको उपचार सेवा र अस्पताल सञ्चालनको व्यवस्थापन उत्कृष्ट रहेको छ । लुम्बिनी प्रदेशका जिल्ला अस्पतालहरुमध्ये स्वास्थ्य मापदण्डमा ९७ अंकसहित बर्दिया अस्पताल प्रथम र यो अस्पताल दोस्रो भएको हो ।

बिगत केही वर्षदेखि भीम अस्पतालले आफ्ना सेवालाई प्रभावकारी र सुधार गर्दै प्रदेश निर्देशनालयको यो मूल्यांकनमा वर्षेनि प्राप्तांक अंक बढाएको छ । सन २०२२ सालमा ८८ नम्बर पाएको अस्पतालले सेवालाई बढाउँदै सूचकहरु वर्षेनी पार गर्दै २०२३ मा ९० अंक प्राप्त गरेको थियो । गत वर्षभन्दा २०२४ मा ४ अंक थप प्राप्त गरी अस्पतालको गुणस्तर सुधारमा उल्लेख्य प्रगती भएको छ ।


Advertisement
Advertisement

न्यूनतम मापदण्ड सेवा मूल्यांकनका संयोजक समेत रहेका अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जग्गनाथ तिवारीले अस्पातल सेवा दिनका लागि कत्तिको तयार छ भनि पनि सूचकको आधारमा मापन गरिन्छ । सूचकका कुराहरु भएमा मात्रै सहज रुपमा सेवा दिन सकिने भएकोले नै प्रदेश सरकारले यो मापनको सुरुवात गरेको हो यो प्रत्येक वर्ष प्रत्येक अस्पतालको हुने गर्छ र भीम अस्पताले आफ्नो सेवा अब्बल बनाउँदै प्रदेशकै दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

‘यसले अस्पताल कति सक्षम छ भन्ने पनि देखाउँछ, सूचक अनुसार अझैँ पनि केही कमिकमजोरी छन्, त्यसलाई सुधार गर्दै सेवालाई अझ चुस्त बनाएर आगामी दिनमा अझैँ उत्कृष्ट बन्नुपर्छ । यसका लागि टिम बनाएर आमनागरिकको उपचार सेवामा लाग्नुपर्छ ।’ संयोजक तिवारीले भने लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले हरेक वर्ष गर्ने न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमले अस्पतालको सेवा तथा व्यवस्थापन प्रभावकारी हुने गर्दछ । उनले अस्पतालको सेवालाई प्रभावकारी बनाउन अस्पताल व्यवस्थापन पक्षलाई जिम्मेवार बनाउने, अस्पतालको कमिकमजोरीलाई सुधार गर्दै आगामी योजना प्रभावकारी बनाउनमा सहयोग गर्छ ।

मूल्यांकन टोलीले ९ सय ३९ वटा सूचकलाई आधार मानेर भीम अस्पतालको स्थलगत मूल्यांकन गर्दा सन् २०२४ मा यो अंक प्राप्त गरेको हो । संयोजकसहितको ५ सदस्यीय अनुगमन टोलीले स्थलगत अनुगमनपछि न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमको नतिजा सोमवार सार्वजनिक गरेका हुन् ।

समितिले गरेको मूल्यांकनमा भीम अस्पतालमा सिटी स्क्यान, एनआइसीयू, नेत्रसेवा, छालारोग र नाका, कान, घाँटी सेवा न्यूनतम सेवा मापदण्डले गरेको परिकल्पनाभन्दा पनि माथि रहेर विशेषज्ञ सेवा उपलब्ध गराएको छ ।
‘ओपीडी विभागतर्फ अधिकांश सेवा विशेषज्ञसहित उपलब्ध रहेको पाइयो’, डा.तिवारीले भने–‘इमर्जेन्सी सेवातर्फ पनि २४संै घण्टा एकजना एमडीजीपी चिकित्सकसहित मेडिकल अधिकृतको सेवा उपलब्ध हुने गरेको पाइयो । जिल्ला अस्प्तालमा यो निकै सकारात्मक पक्ष हो ।’

लैंगिक हिंसामा परेका पीडितका लागि अस्पतालमा प्रदान गरिने एकद्वार संकट व्यवस्थापन केन्द्र, बिरामीका लागि कुरुवा घर, अप्रेसन थिएटर, ल्याव, ब्लडबैंक, पिउने पानीको परीक्षण, फोहोर व्यवस्थापन, स्वास्थ्य जाँचका लागि कुन बिरामीलाई कुन चिकित्सकसँग पठाउने ? भन्नेबारे स्क्रिनिङ कक्ष, फिजियो थेरापी, प्रकोप व्यवस्थापन सबै व्यवस्थित रहेको अनुगमन तथा मूल्यांकन समितिले पाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शकुन्तला गुप्ताले अस्पतालको अवस्थाको बारेमा प्रस्तुति दिँदै पछिल्ला दिनमा अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध हुन थालेपछि उपचार सेवा थप प्रभावकारी हुँदै गएको बताइन । उपचार सेवा राम्रो भएपछि पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढेको छ । औसतमा दैनिक तीन÷चार सय बढी बिरामी उपचारका लागि यहाँ आउने गरेको तथ्याङ्क छ ।

उपचारका लागि अस्पतालमा आउने बिरामी सबैलाई सकेसम्म विशेषज्ञ सेवा उपलब्ध गराउन प्रयासरत रहेको जनाउँदै उनले सीमित साधनस्रोतको बावजुत पनि अस्पतालको सेवा प्रभावकारी रहेको दाबी  गरिन् । ‘यस पटक अस्पतालमा अर्थोपेडिक सेवा पनि आरम्भ गरेका छौं’, डा.गुप्ताले भनिन्–‘यो मूल्यांकनबाट अस्पतालमा देखिएका कमिकमजोरीलाई सुधार गर्दै भावी योजना तथा कार्यक्रम बनाइने छ, गरिब तथा विपन्न समुदायले बढीभन्दा बढी उपचार गर्न आउने अस्पताल भएकाले सेवा छिटोछरितो र प्रभावकारी हुनुपर्नेमा सधँै सचेत रहेका छौं ।’

अस्पताल विकास समितिका अध्यक्ष डा.अनन्तकुमार शर्माले सबैको प्रयासले यो सफलता हासिल गरिएको जनाए । ‘अझैँ पनि थप सेवा दिनका लागि हामी लागिपरेका छौं, यसपछिका अस्पतालमा भएका विकासको तुलनामा भिम पछि परे पनि सबैको साथ भए यसको विकास हुने छ ।’–उनले भने ।

‘हामीले टीमवर्कमा विश्वास गर्छौं’, उनले भने–‘अहिले प्रदान गरिरहेका सेवालाई अझैँ प्रभावकारी बनाइ थप गर्दै लैजानुपर्छ । यसका लागि हाम्रो टिमले निरन्तर काम गर्नेछ ।’ एजनाको प्रयासले अस्पताललाई सबैको भरोसायोग्य बनाउन नसकिने जनाउँदै उनले यसका लागि सबै विभागले उत्तिकै काम गर्नुपर्ने जनाए ।
जिल्ला समन्वय समितिका सभापति उमाकान्त चपाईंले विगतमा खस्किरहेको अस्पताल अहिले उत्कृष्टतातर्फ अघि बढीरहेको जनाए ।  ‘अहिले यहाँ उपचारमा आउने बिरामी उपचारपछि सन्तुष्ट छन्, यो राम्रो सन्देश हो । यसलाई बचाइ राखेर अझँै राम्रो बनाउँदै लैजानुपर्छ ।’–उनले भने ।

भैरहवा क्षेत्रको सबैभन्दा पुरानो र सरकारी अस्पतालको रुपमा रहेको अस्पताल ५० शैयाको सूचीकृत रहे पनि १ सय ७ शैयाबाट सेवा दिँदै आएको छ । अस्पतालको सेवाहरु विस्तार हुँदै जाँदा स्वास्थ्य सेवा लिनेको संख्यामा बढोत्तरी भएको छ  ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad