पोखरामा कोटिहोमका नाममा काटिएका दाउरा महानगरद्वारा जफत
राजेश पराजुली, पोखरा । कोटिहोमका नाममा पोखराका सडक र चौताराका रुखबिरुवा काटेर जम्मा गरिएका काठदाउरा पोखरा महानगरपालिकाले जफत गरेको छ । पोखरा लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा जम्मा गरेर राखिएको अवस्थामा नगर प्रहरीले बुधबार काठदाउरा जफत गरेको हो।मानव सेवा फाउन्डेसनले पोखरामा ३ महिनाभन्दा बढी कोटिहोम चलाउने भन्दै पोखराका सडक तथा चौताराका रुख काटेको थियो । ऐतिहासिक एवं महत्वपूर्ण चौतारा तथा सडकका रुख ठुटो बनाएपछि महानगरको पनि चर्को आलोचना भइरहेको छ । रुख काट्न महानगरले नै मौन स्वीकृति दिएको भन्दै सरोकारवालाले आलोचना गर्दै आएका थिए ।तर, महानगरले भने कोटिहोम आयोजकले आफूहरुसँग अनमुति नलिएकोले कारबाही गर्ने बताउँदै आएको थियो । मंगलबार मिडियासँग कुरा गर्दै महानगर मेयर आचार्यले अनुमतिबेगर पोखरामा कोटिहोम चल्न नदिने बताएका थिए ।
ऐतिहासिक चौतारीहरू मासेर गर्न लागिएको उक्त कोटीहोम राज्यको कुनै पनि निकायबाट अनुमति नलिइएको र नगर क्षेत्रका रुखहरू कटान गर्ने सन्दर्भ समेत महानगरपालिकाबाट अनुमति लिइएको पाइएपछि महानगरीय प्रहरी बलका प्रमुख नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाको नेतृत्वमा पुगेको टोलीले सय टन बढी काठदाउराहरु नियन्त्रणमा लिई जफत गरेको हो । जफत गरिएका काठदाउराहरु महानगरपालिकाले सुरक्षित स्थानमा राखेको छ ।