Advertisement
विज्ञापन

रवि लामिछाने भैरहवामा, भोलि अदालतमा हाजिर हुने



Advertisement
विज्ञापन

बुटवल, ८ माघ ।

रुपन्देहीको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा मुद्दा दर्ता भएपछि त्यसको प्रतिवादका लागि रास्वपा सभापति रवि लामिछाने मंगलबार अपराह्न रुपन्देही आएका छन् ।


Advertisement
Advertisement

रास्वपा सहकोषाध्यक्ष दीपक बोहोराले लामिछाने मंगलबार अपराह्न भैरहवा एयरपोर्टमा आएको बताए । लामिछाने मंगलबार अबेर आए पनि बोहोरासहित रास्वपाका नेताहरु तथा केही कानून व्यवसायीहरु पहिले नै भैरहवा आइसकेका छन् ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका उनी बुधबार अदालतमा आफैं उपस्थित हुने तयारीमा रहेको नेता बोहोराले जनाए ।

सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको हो । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो माग दाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड पनि बिगो दाबी गरिएको छ ।

प्रहरीको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले झन्डै दर्जन तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो ।

यसअघि गत वैशाख ३ मा सुप्रिमको बचत अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो । त्यतिबेला लामिछाने गृहमन्त्री थिए । गृहमन्त्री भएकै कारण उनीविरुद्ध प्रहरीले ‘अनुसन्धान नगरी उन्मुक्ति दिएको’ थियो ।

जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले लामिछाने, जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक तथा जीबी राईसहित १७ जनालाई थप कसुर र बिगोसहितको मुद्दा दर्ता भएको भए पनि अदालतमा उपस्थित हुनेबारे केही जानकारी नभएको बताए ।

‘पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको छ, तीमध्ये पूरक अभियोगमा रवि, छवि र लक्ष्मीप्रसाद पौडेलसहित १४ जना नयाँ र बाँकी ८ जना सुरु प्रतिवादीमध्येकालाई थप कसुरसहित बिगो माग गरिएको हो’, उनले भने ।

सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका सञ्चालक रहेका दिनेश रोकालाई मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाएको छ । यो नयाँ मुद्दा हो ।

सरकारी वकिलको कार्यालयले थप कसुर र बिगोसहितको १७ जनाविरुद्धको मुद्दा बिहीबारै अदालत लगेको थियो । लामिछानेसहितको पूरक अभियोजन आइतबार मात्र अदालत पठाएको हो । थप अभियोगको फाइल बिहीबारदेखि आइतबारसम्म रुजु गरेको अदालतले पूरक अभियोजन फाइल भने तीन घण्टामै रुजु गरेर दर्ता गरेको हो ।

यसअघि अदालतले सुरु मुद्दाको फाइल सर्वोच्चबाट फिर्ता आउन ढिलाइ भएको र त्यससँग रुजु गर्न नपाएको भन्दै मुद्दा दर्ता गरेको थिएन । प्रहरी अनुसन्धानका अनुसार सुप्रिम सहकारीका १ हजार ८७२ जनाको जाहेरीका आधारमा अभियोजन गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो ।

सुप्रिम सहकारीका १० हजार ३९१ जना बचतकर्ताको १ अर्ब ३१ करोड अपचलन भएको यो अनुसन्धानमा देखाइएको छ । लामिछानेको तर्फबाट कानुन व्यवसायीको संयोजन गर्न अधिवक्ता यज्ञमणि न्यौपानेलाई खटाइएका छन् । रास्वपा नेताहरूका अनुसार अन्य कानुन व्यवसायीको विषयमा केही खुलाइएको छैन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad