सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो!
मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ । बागलुङ नगरपालिका-४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आउनुभएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न छन् । १६ वर्षको कलिलो उमेरमा रोजगारीका लागि भारत जानुभएका सन्तोष त्यहाँबाट फर्केर पुर्खाको पेसामा लागेको र यसमै सन्तुष्ट रहेको बताउँछन् ।
“भारतमा लामो समय काम गर्दासमेत भनेजस्तो कमाउन सकिएन । हाल नेपालमै काम गरिरहेको छु । आफ्ना पुर्खाको आरन पेसा अगाल्दा पैसाभन्दा बढी सन्तुष्टि मिलिरहेको छ”, उनले भने । बागलुङ नगरपालिका–९ तित्याङ घर भएका विश्वकर्माले आरन चलाएर राम्रो आम्दानी गर्दै आएको बताए । उनले भारतमा १० वर्ष सिल्टेको भाडा बनाउन सिकेको कामले स्वदेशमा कमाइ गरेको बताए ।
आफ्नै देशमा काम गर्न पाएकोमा सन्तोष खुसी छन् । साथीभाई अहिले रोजगारीका लागि विभिन्न देश पुगे पनि भारतबाट फर्केपछि आफूलाई भने विदेश जान मन नलागेको उनको भनाइ छ ।
“आरन व्यवसायबाट एकदमै खुसी छु, यहाँ सबैसँग खुलेर कुराकानी गर्न पाइन्छ, अन्यत्र भाषाको समस्या हुन्छ, आफू ठूलो देशमा नगए पनि आफूले उत्पादन गरेका फलाम, तामा र सिल्टेका भाडा जापान, अमेरिका लगायतका देशमा पुगेका छन्”, विश्वकर्माले भने, “अहिले सजावटका लागि तामाको भाडाको निकै माग छ, तामाको भाडामा पानी खाने प्रचलन फेरि फर्केको छ, उपहार र आफन्तका लागि विदेशमा समेत सामग्री खरिद गरेर पठाउने प्रचलनले व्यापार फष्ठाएको छ ।”
“अहिले काम गर्ने मान्छे पाइँदैनन्, पछिल्लो पुस्तालाई विदेशकै मोह छ, विदेश नै जाने, धन कमाउने भन्छन् । पुख्र्यौली पेसा संरक्षणमा स्थानीय सरकारले ध्यान दिने, पेसालाई आधुनिकरण गर्ने र प्रोत्साहन गर्ने हो भने यतै राम्रो गर्न सकिन्छ”, उनले भने। रासस