धानको परालः जलाए प्रदूषण, दान दिए पुण्य
बुटवल।तराइमा किसानहरूले धान काटेसकीपछि तोरी रोप्ने तरखर गर्दै छन् । कुनै किसानले तोरी छरीसके भने कुनै किसानले गहुँ छर्ने काम जारी छ । यसरी धान पाकेर स्याहार्ने अधिकांस किसानहरूले यान्त्रीकरणको प्रयोग गर्दै आएको पाईन्छ । श्रमीकको अभावका यान्त्रीकरण बरदान भएको छ । तर यसको प्रयोगबाट अधिकांस किसानको पराल भने धान खेतमा नै रहने गरेको कारण जलाउने प्रचलन पनि रहेको छ ।
पर्यावरणीय हिसावले खेतमा रहेका स–साना जीवहरूलाई पराल जलाउँदा लगाउने आगोको कारण क्षति पुग्ने गरेको पाईन्छ । यसको साथै पराल जलाउँदा मलको रूपमा काम गर्छ भन्ने पुरानो भ्रम पनि रहेको छ । जसले माटोलाई अझ बढि अम्लीय बनाउने कृषि प्राविधिक समेत बताउँछन् । बुटवल उपमहानगरपालिका कृषि महाशाखा प्रमुख कृषि अधिकृत सन्तोष जिसीका अनुसार यसरी पराल जलाउनु पर्यावरण, माटो, किटपतङ्गको लागि समेत असर पर्दछ । उनले यसरी पराल जलाउने काम गलत भएको भन्दै यसलाई गौशालामा दान दिँदा अझ उत्तम हुने बताए । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ मा शिवनरमा नन्दीनी तिलोत्तमा गौशाला अहिले सञ्चालनमा रहेको छ । बुटवल उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापनको लागि गौशाला सञ्चालनमा ल्याएको हो ।
यसरी गौशालमा रहेका गाई, गोरुहरूलाई खुवाउनको लागि पराल आवश्यक पर्दछ । यसरी पराल जलाउने भन्दा निःशुल्क रूपमा दान गर्नको लागि नगरपालिकाले सूचना नै प्रकाशन गरी सबैमा आग्रह गरेको छ ।
गत कार्तिक ६ गते निर्देशक तुल्सा अर्यालले जारी गरेको विज्ञप्तीमा किसानले निःशुल्क रूपमा उपलब्ध गराउने पराल लिनको लागि बुटवल उपमहानगरपालिकाले साधन उपलब्ध गराएको छ । सोही अनुसार अहिले वडाका विभिन्न स्थानबाट किसानले जलाउने पराल संकलन गरी गौशालामा भण्डारण गरिएको छ । निर्देशक अर्यालका अनुसार सबै वडाहरूमा समेत निर्देशन समेत जारी गरी खासगरी १४ देखि १९ नम्बरका वडा अध्यक्षसँग समेत समन्वय गरी पराल संकलनको काम अहिले जारी रहेको छ । गौशालाका कर्मचारी रानी कानू वनियाका अनुसार अहिले सम्म गौशालामा ३० ट्रिप भन्दा बढि पराल संकलन गरिएको छ । सबै स्थानीय किसानहरूले निःशुल्क रूपमा उपलब्ध गराएका हुन भने सबै नरपालिकाको ट्यांक्टर, टिप्पर ले संकलन गरेको छ । कर्मचारी बनिया भन्छिन्–‘विचमा केही दिन विदा भयो, केही समस्या भयो तर किसानहरूले उपलब्ध गराउने क्रम अझै जारी छ एकै दिनमा ६/७ ट्रिप समेत आएको छ ।’ नगरपालिकाले पराल जालाउनु भन्दा गौशालालाई दिनको लागि सूचना नै जारी गरी संकलन गर्ने गरी काम अहिले जारी राखेको छ ।
नगर प्रमुख खेलराज पाण्येयले पर्यवरणलाई समेत राम्रो हुने गौशालाका चौपायाले समेत पराल खान पाउने भएको कारण नगरपालिकाले अभियानको रूपमा पराल जलाउन भन्दा गौशालामा दान दिन आग्रह गरेको जानकारी दिए ।
चेतनाको अभाव र लापरवाहीका कारण अधिकांस किसानहरूले धान काटेपछि खेतमा आगो लगाउँदा उर्वराशक्ति ह्रास हुने गरेको पाईन्छ । मेसिनको प्रयोग गरी धान काट्दा कम्पाईन मेसिनले धान काट्दा धेरै पराल खेतमै छोडिने भएकाले किसानहरूले खेत सफा राख्न आगो लगाउने गर्दै आएका छन् । आगो लगाउँदा माटोमा भएको उर्वरा शक्ति वृद्धि हुने भ्रम किसानमा छ । खेतमा आगो लगाउँदा उल्टो माटोको उत्पादन क्षमता घट्न र वातावरणमा समेत असर पर्ने कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख शिव प्रसाद अर्याल बताउँछन् । किसानहरूले खेतमा आगो नलगाउन भन्नका लागी पछिल्लो समय स्ट्र रिपर नामक पराल काट्ने मेसिनको प्रयोग गर्न सुझाव दिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।