रेसुङ्गामा श्रद्धालुहरूको घुइँचो
गुल्मी।विगत वर्षहरूको तुलनामा यसपटक हरिबोधिनी एकादशी पर्वको अवसरमा गुल्मीको पबित्र धार्मिक स्थल रेसुङ्गामा मंगलबार दिनभर श्रद्धालुहरूको घुँईचो लाग्यो । एकादशीको अबशरमा धार्मिक स्थल रेसुङ्गाको महापोखरीमा धार्मिक मेला लागेका कारण पनि त्यस क्षेत्रमा जाने श्रद्धालुहरूको चाँप बढेको हो ।
हरिबोधिनी एकादशीको दिन रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीको पानीले स्नान गरेपछि चारधाम जानु पर्दैन भन्ने मान्यता रहिआएको छ । महापोखरीमा स्नान गरि यज्ञशाला र सिद्धस्थान मन्दिरमा पुजाआजा गरेमा मानिसले आफुले अञ्जानमा गरेका संम्पुर्ण पापहरू समेत नष्टभई संवृद्धि प्राप्त हुने धार्मिक विश्वास गरिन्छ । त्यही धार्मिक विश्वासका कारण गुल्मी लगायत छिमेकी जिल्लाहरूबाट महापोखरीमा स्नान गर्न यसपटक सोंचे भन्दा धेरै भक्तजनहरूको उपस्थिति रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी दिएका छन ।
रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा चारधामवाट ल्याएको जल मिसाईएको हुँदा यहाँको पोखरीको पानीले स्नान गर्नाले चारधाम जान पर्दैन भन्ने मान्यता छ । महापोखरीमा स्नान गरेपछि पोखरीदेखि केही माथि रहेको यज्ञशाला मन्दिरमा पुगेर पुजाआजा गर्ने र बर माग्ने प्रचलन छ । ठुलो एकादशीको रूपमा चिनिने हरिबोधनी एकादशीलाई गुल्मीमा विशेष महत्वको रूपमा मनाउने गरिन्छ ।
रेसुङ्गाको महापोखरीमा स्नान र पुजाआजाका लागि गुल्मी लगायत अर्घाखाँची, पाल्पा, स्याङ्जा, वाग्लुङ्ग, प्यूठान, रूपन्देही लगायत धेरै टाढा टाढावाट समेत श्रद्धालुहरू आउने गर्दछन् । एकादशीको अवशरमा रुद्रवेणी र कालीगण्डकी नदीमा पनि आज दिनभर स्नान तथा पुजापाठ गर्नेहरूको घुइँचो लागेको थियो ।
एकादशी पर्वको अवशरमा रेसुङ्गामा लाग्ने धार्मिक मेलालाई लक्ष्छित गरि यहाँका स्थानीय पालिकाहरूले पनि मंगलबार सार्वजनिक बिदा दिएका थिए । धार्मिक मेलाको अवशरमा रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन । बिगत वर्षहरूको तुलनामा यस पटक रेसुङ्गामा जाने श्रद्धालुहरूको दिनभरनै चाँप बढेको थियो ।