वन क्षेत्रको फोहोर व्यवस्थापनमा बेवास्ता
लमही नगरपालिकाको लापर्वाही र वन संरक्षणमा खटिएका समुदायको चासोले देउखुरीको अजम्मरी सामुदायिक वनमा फोहोर फाल्न रोक लगाइएको छ ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालका अनुसार विगत लामो समयदेखि नगरपालिकाले यस वन क्षेत्रलाई डम्पिङ साइडको रूपमा प्रयोग गर्दै आएको थियो, तर उचित व्यवस्थापन भने गर्न नसक्दा वातावरणमा गम्भीर असर पुगेको छ ।
नगरपालिकाले कुहिने र नकुहिने फोहोर व्यवस्थापन नगरेको र वन क्षेत्रमा जथाभावी फोहोर फालिएको अवस्थामा समूहले सामुदायिक वन प्रवेश गेटमा ताला लगाउदै बिरोध उत्तिएको हो ।
वन समुहले गत असोज २३ गते लमही नगरपालिकालाई ध्यानाकर्षण पत्रसहित एक महिने अल्टिमेटम दिइए पनि नगरपालिका तटस्थ देखिएपछि सामुदायिक वनले वन प्रवेश गेटमा ताला लगाएको समूहका अध्यक्ष शर्माले बताए । समुहको यस्तो कदमले स्थानीय तहलाई फोहोर व्यवस्थापनमा चासो दिन बाध्य बनाएको छ ।
सडक नजिकको वनको जग्गामा जलाइने फोहोरले प्रदूषण बढ्न थालेको र यसले वातावरण र वन्यजन्तुलाई गम्भीर असर पुर्याएको समूहले बताएको छ। वन कार्यालय र स्थानीय उपभोक्ताले गरेको स्थलगत अवलोकनमा लमही बजारको सेफ्टी–ट्यांकीको फोहोर समेत फालेको भेटिएपछि यो निर्णय लिइएको हो ।
समूहका उपाध्यक्ष रवि श्रेष्ठले फोहोरको डम्पिङ साइडमा आगो लगाउने र रुखबिरुवा समेत नष्ट भएको अवस्थाले समस्या थप जटिल बनाएको बताउदै फोहोर लाई ब्यबस्थित रूपमा ब्यबस्थापन गर्न नगरपालिकालाई पटक पटक आग्रह गरेको बताए । “सरोकारवालाबाट उचित व्यवस्थापनको माग गर्दै फोहोर फाल्न रोक लगाएका हौं,“ श्रेष्ठले भने। “यो समस्या समाधान नभएसम्म हाम्रो कडा कदम जारी रहनेछ ।“
लमही नगरपालिकाका मेयर जोगराज चौधरी फोहोर ब्यबस्थापनका लागि नगरपालिकाको स्वामित्व जग्गा नहुदा नगरपालिकाले ब्यबस्थापन गर्न नसकेको बताए ।