सरकार राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा लागेको छ : माओवादी केन्द्र
सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारकै कारण देशमा असाधारण परिस्थिति बन्दै गएको बताए । ‘राम्रो काम गर्ने मानिसहरूलाई सरकारले हटाइरहेको छ । यसले गर्दा देशमा असाधारण परिस्थिति बन्दैछ’, सापकोटाले भने, ‘यस्तो अवस्थामा सबै पार्टीहरूबिच एकरूप समझदारी हुनुपर्ने र राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने चर्चा पनि चलेको छ ।
उनले संविधान संशोधनको कुरा गरेर कांग्रेस र एमाले सत्तामा गएको तर अहिले फेरि उक्त विषय सेलाएको बताए । उनले संविधान संशोधन गर्ने भए अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए ।
साथै माओवादीले देशको प्रमुख कार्यकारीको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने पनि बताएको छ । त्यो निर्वाचन प्रणालीमा गएपछि मात्र अहिले देखिएका विकृति र विसंगतिको अन्त्यका साथै राजनीतिक अस्थिरता पनि हट्ने उसको भनाइ छ ।