८७ जनामा डेङ्गुको सङ्क्रमण
This female’s abdomen had become distended due to the blood meal she was ingesting, imparting the red coloration to her translucent abdominal exoskeleton.
प्यूठान।जिल्लामा यस आर्थिक वर्षमा ८७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय प्यूठानको साउन देखि शुक्रबारसम्मको तथ्याङ्क अनुसार सो सङ्ख्याका मानिसमा डेङ्गु भेटिएको हो ।
स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी कोल्ड चेन निरीक्षक कौशलराज वैद्यले आ.व. २०८०/०८१ को तुलनामा चालु आ.व. २०८१/०८२ मा सङ्क्रमित विरामीको सङ्ख्यामा कमी आएको जानकारी दिए ।
उनका अनुसार गत आ.व. १ सय ४६ जनामा देखिएकोमा यस वर्ष ४७ जना पुरुष, ३९ जना महिला र १ जना अन्य व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका गाउँगाउँमा समेत डेङ्गु देखिएको छ । सबै भन्दा बढी स्वर्गद्वारी नगरपालिकामा २० जना, प्यूठान नगरपालिकामा १८ जना, सरुमारानी गाउँपालिकामा १२ जना, माण्डवी गाउँपालिकामा ११ जना, ऐरावती गाउँपालिकामा ९ जना, नौबहिनी गाउँपालिकामा ३ जना, झिमरुक गाउँपालिकामा २ जना र मल्लरानी गाउँपालिकाका १ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
त्यसै गरी गुल्मी र रोल्पाका ११ जना समेत जिल्लामा जाँचका क्रममा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेङ्गुका सुरुवाती लक्षण हुन् ।
एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेङ्गु घातक हुने सूचना अधिकारी वैद्यले बताए । उनका अनुसार डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।
यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मल्हमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।