कर्णालीमा काँग्रेसले टुंगो लगाउँदै उम्मेदवार
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले विभिन्न स्थानीय तहहरुमा उम्मेदवार टुंगो लगाउँदै छ । जाजरकोट र दैलेखमा उम्मेदवारको टुंगो लगाएको नेपाली काँग्रेस कर्णाली प्रदेशले जनाएको छ ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको लागि इन्द्रा चन्द सिंहको नाम सिफारिस भएको नेपाली काँग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले जानकारी दिए । यस अघि नलगाड नगरपालिकाका उपप्रमुखको एक वर्ष अघि भुकम्पका कारण मृत्यु भएको थियो । त्यस पश्चात उक्त पालिकामा उपप्रमुख पद रिक्त रहेको थियो ।
त्यसैगरी दैलेख महावु गाउँपालिकाको अध्यक्ष र दुल्लु नगरपालिका–१३ को वडा अध्यक्ष पदको उम्मेदवारको टुंगो लगाएको छ । महावु गाउँपालिकाको अध्यक्षको उम्मेदवारका लागि झलक बहादुर भण्डारी र दुल्लु नगरपालिका–१३ को वडाअध्यक्ष पदमा रेशमबहादुर शाहीको नाम टुङ्गिएको हो ।
नेपाली काँग्रेसबाट निर्वाचित महाबु गाउँपालिकाका अध्यक्षको गत वर्ष निधन भएको थियो । त्यसैगरी एमालेबाट निर्वाचित दुल्लू नगरपालिका–१३ वडाका वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा २०८० माघ २२ गते निधन भएको थियो । त्यसैगरी अन्य पालिकामा पनि उम्मेदवारको छनौटको प्रक्रियामा रहेको प्रवक्ता शाहीले जनाए ।
कर्णालीका १० जिल्लामध्ये ६ जिल्लाका आठ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको हो । कर्णाली प्रदेश अन्तर्गत नगरपालिका एक जना उपप्रमुख, गाउँपालिका एक जना अध्यक्ष, उपाध्यक्ष एक र पाँच वडाअध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुने भएको छ ।
जसमा जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष रहेका छन् । त्यसैगरी दैलेखको दुल्लु नगरपालिका–१३, कालिकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुसे गाउँपालिका–७, डोल्पाको त्रिपुराुन्दरी नगरपालिका–५ र रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५, मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ ।