स्वास्थ्य जाँचबाट दुर्घटना घटाउने योजना
चन्द्रौटा।“चाडपर्वको समयमा यात्रुको चाप बढ्नसक्ने भएकाले ट्राफिक प्रहरीले विशेष योजना बनाएको छ । यात्रु सुरक्षाका लागि नयाँ कदम चाल्दै सडकमै स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छौँ”: जिल्ला ट्राफिक प्रहरी कपिलवस्तु प्रमुख निरीक्षक पङ्कज चुँदालीले भने । सडक दुर्घटना न्यूनीकरणसँगै यात्रु सुरक्षाका लागि नयाँ कदम चाल्दै सडकमै स्वास्थ्य परीक्षण अभियान सुरु उनले बताए । सवारी चेकजाँच, विद्यालय र समुदायमा सचेतनाका कार्यक्रम समेत सञ्चालन गरिने चुँदालीको भनाइ छ ।
शुक्रवारबाट सुरु भएको यस अभियान अन्तर्गत राजमार्गमा चल्ने सवारी चालकहरूको दृष्टि र रक्तचाप जाँच गरिएको छ । अभियानको पहिलो दिनमा ८७ जना चालकको स्वास्थ्य परीक्षण गर्दा केहीमा आँखा तथा रक्तचापसम्बन्धी समस्या पाइएको छ । दृष्टि, रङ्ग चिन्ने क्षमता, र रक्तचाप जाँच गरिएका चालकहरूमध्ये स्वास्थ्य समस्या पाएका चालकलाई थप उपचारको सल्लाह दिइएको प्रहरीले जनाएको छ । छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जका दृष्टि विशेषज्ञ डा. सुशील कार्कीले समस्या पाएका चालकलाई आवश्यक परामर्श दिइएको जानकारी दिए ।
अभियानलाई नियमित बनाउने योजना रहेको ट्राफिक प्रहरी नायव निरीक्षक राघव सिंह राठौरले बताए । उनले भने, “ट्राफिक प्रहरीको जिम्मेवारी केवल कारबाही र राजस्व सङ्कलन मात्र होइन । चालक, सहचालक, र यात्रुको सुरक्षामा सचेतना ल्याउने हाम्रो मुख्य उद्देश्य हो ।” नवलपरासीका सवारी चालक लेख बहादुर राना मगरले लामो समय गाडी चलाउनुपर्ने चालकहरूको स्वास्थ्य नियमित परीक्षणको आवश्यकता रहेको बताए । सवारी दुर्घटनाको जोखिम कम गर्दै यात्रुको सुरक्षामा सुधार ल्याउन र चालकहरूमा नियमित स्वास्थ्य परीक्षणको महत्त्व बुझाउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी निरीक्षक पङ्कज चुँदालीका अनुसार चाँडपर्वको समयलाई मध्यनजर गर्दै बनाइएको यो विशेष योजनाले यात्रु सुरक्षालाई बलियो बनाउने अपेक्षा गरिएको छ ।