तिहारलाई तयार ‘विद्यार्थीको मखमली’
बुटवल।गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मा मजुवामा रहेको तुराङ्ग बहु प्राविधिक शिक्षालयमा अध्यनरत विद्यार्थीहरूले तिहारको लागि चाहिने सयपत्रि र मखमली फूल ढकमक्क फूलाएका छन् । शिक्षालयमा अध्ययनरत बाली विज्ञान तर्फको डिप्लोमा तहमा अध्ययनरत विद्यार्थीहरूलाई साथमा लिएर शिक्षालयका प्रशिक्षक तथा कर्मचारीहरूले फूल तयार गरेका हुन । तयार भएको सयपत्री, मखमली फूल विक्रिको लागि समेत तयार भएको छ । शिक्षालय प्रमुख प्रदिप राज पाण्डेका अनुसार भाइटिका तिहार तथा विभिन्न शुभ कार्यका लागि आबश्यक पर्ने फूल ढकमक्क फुलेको छ ।
उत्पादन भएको सयपत्री फूल रु ३५०/– प्रती किलोमा बिक्री गर्ने तयारी गरिएको उनको भनाई रहेको छ । विद्यार्थीहरूको मिहिनेतले अहिले सार्थक रूप पाएको शिक्षालय प्रमुख पाण्डेको भनाइ रहेको छ । २०७८ सालमा सिटीईभीटीको आंगीक शिक्षालयको रूपमा गुल्मीको चन्द्रकोट मजुवामा स्थापना भएको यो शिक्षालयमा डिप्लोमा तहमा बाली विज्ञान तर्फ र पशु विज्ञान तर्फ ३÷३ बर्षे अध्यापन हुँदै आएको छ ।
विद्यार्थीहरूको प्रयोगात्मक अभ्यासको लागि शिक्षालयले १० रोपनी जग्गा भाडामा लिएको छ । जसमा ३ रोपनी भन्दा बढिमा सयपत्री, मखमली फूल खेती गरिएको शिक्षालयका बाली विज्ञान कार्यक्रम संयोजक सुमित भुषालले जानकारी दिए । उनका अनुसार सयपत्री संगै ३ प्रकारको विच बीचमा मखमली फूल समेत उत्पादन भएको छ । रातो, सेतो, निलो प्रजातीको मखमली उत्पादन गरिएको संयोजक भुषालको भनाई रहेको छ । भाडामा लिएको जग्गाबाट उत्पादन भएको फूल विक्रिबाट २० प्रतिशत विद्यार्थीहरूलाई मिहिनेत गरेको पारिश्रमीक खाजा खर्च मार्फत दिने योजना शिक्षालयको छ । यो बर्ष करिब ५० हजार भन्दा बढिको सयपत्री, मखमली बिक्री हुने अपेक्षा लिएको शिक्षालय प्रमुख पाण्डेको भनाई छ । उनी भन्छन्–‘यहाँको मात्रै बजारले हुँदैन हामी, गुल्मीको तम्घास, बुटवल, पाल्पा, लगायतका स्थानमा समेत सम्पर्क गरी फुल बिक्री गर्ने योजना बनाएका छौं, अन्य भन्दा सस्तोमा बिक्री गर्ने योजना बनाएको कारण छिट्टै बिक्री हुनेमा विश्वस्त छौं । ’
सयपत्री खेतीको लागि ६ हजार रूपैयाँको बिउ खरिद गरिएको थियो भने अन्य खर्च जाडेर १५ हजार रूपैयाँ लगानी भएको छ । १५ हजार खर्च कटाएर आएको बिक्रीको रकम बाट २० प्रतिशत विद्यार्थीहरूलाई खाजा खर्च दिने योजना रहेको छ ।
शिक्षालयमा बाली विज्ञानतर्फ ४० जना, पशु विज्ञान तर्फ ३÷३ बर्षको लागि ४०÷४० जना विद्याथी कोटा रहेको छ । तर प्राविधिक धार तर्फको शिक्षा लिने भन्दा पनि विदेश जाने लहर बढि भएको कारण विद्यार्थीको अभाव झेल्नुपरेको शिक्षालयले जनाएको छ । अहिले भर्ना कार्यक्रम समेत चलिरहेको अवस्थामा ३ बर्षमा जम्मा १ सय जना विद्यार्थीरहेका छन् । जम्मा ५० हजार रूपैयाँमा ३ बर्षे कृषि तथा पशु विज्ञान अध्यान गर्न शिक्षालयमा व्यवस्था गरिएको छ ।
शिक्षालयमा अहिले हुम्ला, जुम्ला, बाजुरा लगायतका जिल्लाबाट विद्यार्थीहरू आवसिय रूपमा बसेर अध्यान गर्दै आएका छन् । प्राविधिक शिक्षाको माग बढ्दो भएपनि यो तर्फ विद्यार्थीहरूको आर्कषण भने घट्दै गएकोमा चिन्ता थपिएको छ । शिक्षालयले भाडामा लिएको १० रोपनी जग्गामा ३ रोपनीमा फुल खेती बाहेक अन्य ७ रोपनीमा तरकारी उत्पादन गर्दै आएको छ । जसमा काउली, बन्दा, खुर्सानी, भिन्डी, घिरौला, टमाटर लगायतका खेती गरिएको छ । शिक्षालयले हाईटेक टनेल समेत निर्माण गरेको छ ।
विद्यार्थीहरूको मिहिनेत, शिक्षालयका प्रशिक्षकहरूको निरन्तरको रेखदेखको कारण अहिले सयपत्री, मखमली, फूलमा कुनै पनि समस्या नभएको शिक्षालय प्रमुखको भनाइ रहेको छ । अन्य व्यवसायीक पुष्प खेतीगर्ने किसानहरू भन्दा सस्तो मूल्यमा बिक्री गर्ने योजना बनाइएको कारण फूल खरिद गरेर सहयोग गरिदिनको लागि समेत उनले आग्रह गरेका छन् ।