‘जोरायली बासमती धान’ डोटीको पहिचान
डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ ।
नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत (रैथाने) जातको ‘जोरायली बासमती’का खेतको धान काटेर भित्र्याउन भ्याइनभ्याई छ । कर्मनासा नदीको वरिपरि देखिने धानका फाँटसहितको वरिपरिको प्राकृतिक दृश्य रमणीय छ । जोरायल गाउँपालिकामा पर्ने जोरायल क्षेत्रको भूबनोट वरिपरि पहाड र बीचमा समथर भू–भाग रहेको छ । प्राकृतिक रूपमा मनोरम यो क्षेत्र समुद्र सतहदेखि अनुमानित एक हजार आठ सय मिटरको उचाइमा रहेको छ । अढाइ दशकदेखि सडक सञ्जाललगायत विकासका पूर्वाधार पुगेपछि सो क्षेत्रको समग्र विकासमा टेवा पुगिरहेको स्थानीयवासीको अनुभव छ ।
“सडक नहुँदा जोरायल क्षेत्रमा मालसामान ढुवानी गर्न र आवागमन गर्न समस्या थियो”, स्थानीय मदनराज जोशीले भन्नुभयो, “अहिले सडक पूर्वाधार पुग्दा किसानले आफ्नो कृषि उपज सहज रूपमा बजारसम्म पुर्याउन पाएको मात्र नभई आवागमन गर्न निकै सहज बनेको छ ।” कैलालीको सीमासँग जोडिएको जोरायल क्षेत्रले रैथाने जातको मसिनो बास्नादार बासमती धान उत्पादनका लागि सदियौँदेखि छुट्टै पहिचान बनाएको छ ।
खानामा स्वादिलो, नरम र बास्नादार हुने विशेषताका कारण ‘जोरायली बासमती’ले यो क्षेत्रको पहिचान बनाएको हो । बासमती चामलको माग सबैतिर हुन थालेसँगै कतिपय स्थानीय युवाहरू यसको कारोबार गरेर आम्दानी गर्न आकर्षित भइरहेका छन् ।