एउटै सडकमा तीन बर्षमा दुर्घटना हुँदा २५ जनाको मृत्यु
बुटवल।प्युठानको एउटै सडकमा भएका दुर्घटनाबाट तिनवर्ष २५ जनाको मृत्यु भएको छ ।
सरुमारानी १ गनाहदेखि स्वर्गद्वारीसम्मको करिब ५० किलोमिटरको उक्त सडकमा तीन वर्षमा २५ जनाको दुर्घटनामा परी ज्यान गएको हो ।
नेपालको विभिन्न भूभाग र भारतीय पर्यटकहरुका आवागमन हुने मुख्य सडकमा पछिल्ला तीन आर्थिक वर्षमा २५ जनाको ज्यान गएको प्रहरीको तथ्यांक छ । तथ्यांक अनुसार यो अवधीमा ३३ वटा दुर्घटना भएका छन् ।
आर्थिक बर्ष २०७८-०७९ देखि २०८०-०८१ सम्म ३ बर्षको अवधिमा ३३ वटा सवारी साधन दुर्घटना हुंदा २५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
ति दुर्घटनामा परि ४७ जना गम्भिर घाईते भएका छन् । २०४५ साल भालुवाङ प्युठान सडक र २०६४ सालमा भिंग्री स्वर्गद्वारी सडक निर्माण भएपनि सडक सुधार प्रभावकारी नहुंदा सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
गतबर्ष जेठ २९ गते स्वर्गद्वारी दर्शन गरेर फर्किने क्रममा कार दुर्घटना हुंदा ८ जनाको ज्यान गएको थियो ।
त्यसपछि यो सडक सुधारको विषयमा सम्बन्धित सरोकारवालापक्षहरुको चासो बढेको छ ।
गतबर्ष मात्रै सडक डिभिजन कार्यालय प्युठानको पहलमा सडक बोर्ड मार्फत ११ करोड बजेटको व्यवस्था गरेर सडक सुरक्षाको लागि भिंगृदेखि स्वर्गद्वारीको खण्डमा खर्च गरिएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।