लुम्बिनीमा विदेशी कूटनीतिज्ञ धमाधम आउँदै
बुटवल । पछिल्लो समय गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विदेशी कूटनीतिज्ञहरू धमाधम आउन लागेका छन् ।गत कार्तिक १४ गते संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै लुम्बिनी आएका गुटेरेसले अशोक स्तम्भ अगाडि पत्रकार सम्मेलन गर्दै विश्व शान्तिको कामना गरे ।
रुस र युक्रेनबिच युद्ध चलिरहेको बेला उनले शान्ति भूमि लुम्बिनीबाट गरेको आह्वानले विश्वव्यापी चर्चा पायो, जसले लुम्बिनीको महत्त्व थप दर्शाएको छ ।त्यस यता नेपालस्थित विदेशी नियोगका पदाधिकारी धमाधम लुम्बिनी आइरहेका छन् ।
चैत ८ र ९ गते विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका महावाणिज्यदूत र सरकारी अधिकारीहरू बुद्ध जन्मस्थल लुम्बिनीमै आएर बुद्ध, शान्ति र समृद्धिका लागि एकताबद्ध रहेको सन्देश दिएका थिए ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपालका लागि चीनका राजदूत चेन सोङ, श्रीलङ्काली राजदूत सुदर्शना पाथिराना पनि लुम्बिनी आइसकेका छन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको प्रबर्द्धनका लागि पछिल्लो समय विदेशी उच्च पदस्थ व्यक्तिलाई लुम्बिनी ल्याउने उद्देश्यले काम गरिरहेका छन् ।लामा साउन महिनामा नियुक्त भएपछि लुम्बिनीमा विभिन्न देशमा उच्च पदस्थ व्यक्तिहरू ल्याएर लुम्बिनीको प्रबर्द्धन गर्न आग्रह गर्ने काम गरेको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताए ।
विदेशी आउँदा हुने विभिन्न कार्यक्रमसँगै उनीहरूले लुम्बिनी प्रबर्द्धनमा सहयोग गर्ने कार्यले लुम्बिनीको पर्यटन व्यवसायमा पनि सुधार हुँदै आएको होटेल व्यवसायी सङ्घ लुम्बिनीका अध्यक्ष गोविन्दप्रसाद ज्ञवाली बताउँछन् ।उनले विदेशी उच्च पदस्थ व्यक्तिहरू आउँदा लुम्बिनीको बारे राम्रो सन्देश बाहिर जाने हुँदा त्यसबाट बाह्य पर्यटक वृद्धि हुने बताए ।
लुम्बिनीमा पछिल्लो समय भारतले एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा बुद्ध अध्ययन केन्द्र निर्माण गर्दैछ । यस्तै अमेरिकी धर्म गुरुले पनि डेढ अर्ब रुपैयाँभन्दा बढी लगानीमा विहार निर्माणको काम गरिरहेका छन् ।
यस्तै मलेसियाका दाताको झण्डै २ अर्बको लगानीमा विहार निर्माणको काम भइरहेको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर चिनियाँ दूतावासको सहयोगमा लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव सम्पन्न भएको छ । उक्त कार्यक्रममा खेलकुदसँगै चिनियाँ कलाकारहरूको प्रस्तुति समेत थियो ।
लुम्बिनी विकास सूचना अधिकारी डा हरिध्वज राईले विदेशी उच्च तहका पदाधिकारीहरू लुम्बिनी आएपछि उक्त देशबाट स्वाभाविक रूपमा पर्यटक बढ्ने बताए ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपछि धेरै भारतीय पर्यटक आएको स्मरण गर्दै उनले अन्य विदेशी पर्यटकहरू बिस्तारै वृद्धि हुँदै गएको बताए ।
लुम्बिनी आउने विदेशी राजदूत एवम् अन्य उच्च पदस्थ व्यक्तिलाई कोषका उपाध्यक्ष लामाले लुम्बिनीको विकास र संरक्षणका साथै भैरहवामा अन्तर्राष्ट्रिय उडानका लागि आग्रह गर्दै आएका छन् ।लुम्बिनीमा विदेशी पर्यटक भित्र्याउन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित हुनुपर्ने भन्दै उनले चीन, भुटान र श्रीलङ्काजस्ता देशबाट सिधै अन्तर्राष्ट्रिय उडान गरेर बुद्ध धर्मावलम्बीलाई लुम्बिनी ल्याउन सकिने बताउँदै आएका छन् ।