अर्घाखाँचीमा भान्सा सुधार कार्यक्रम सञ्चालन
सन्धिखर्क। अर्घाखाँचीमा स्वस्थकर जीवनशैली प्रवर्द्बनमा गृहिणीहरुका लागि भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको छ ।आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीको आयोजनामा जिल्लाका बिभिन्न स्थानमा भान्सा मार्फत स्वस्थकर जीवन जिउन सहयोग गर्ने उद्धेश्य अनुरुप गृहिणीहरुलाई लक्षित गरी भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको हो ।
खाना पकाउनु पुर्वदेखि उपभोगसम्म आयुर्वेदमा लिपिबद्ध पोषण प्रबर्द्धन कार्यहरूलाई पोषण संवेदनशील भई भान्सा सुधार मार्फत स्वस्थकर जीवन जिउनका लागि समुदायको पोषण सुधार हुने गरी परिणाम प्राप्त गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको केन्द्रले जनाएको छ ।
आयुर्वेद चिकित्सा बिज्ञानमा स्वस्थ हुनका लागि असल खानापान, असल ब्यवहार र विचारलाई प्रमुख मानिएको छ ।
स्वस्थ खानपानका लागि दिनचर्या र ऋतुचर्याको पालना गर्नुपर्छ । कार्यक्रममा खानपानकै कारणले नसर्ने रोग लगायत कुपोषणजन्य रोगलाई लाग्न नदिन वाह्य उत्पादित खानालाई निरुत्साहित गर्दै घरमै पाकेको अर्गानिक खानपानको जनचेतना अभिबृद्धि गरि स्वस्थकर खानपान गर्ने बानीको विकास गर्न अभिप्रेरित गरिएको थियो ।
कार्यक्रममा बालपोषणको बारेमा जानकारी गराउने,स्वरस, कल्क, हिम, फान्ट,पेया,मण्ड तथा विलेपि बनाउने तरिका सिकाउने,गर्भिणिको प्रथम मासदेखि नवौ माससम्म सेवन गराईने आहार बिहारको बारेमा जानकारी गराउने तथा दैनिक भान्सामा प्रयोग हुने जडिबुटिहरुको बारेमा तथा बिरुद्ब आहारको बारेमा जानकारी गराईएको थियो । साथै आदर्श भान्साघर हुनका लागि आवश्यक नियम, आचरण तथा स्थानिय स्तरमा खाना बनाईने तरिका आदि बारेमा समेत जानकारी गराईएको थियो ।
कार्यक्रम मालारानी गाउँपालिका वार्ड नं ६, ७ र ८ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई वडा नं ६ स्थित स्वास्थ्य चौकी भवनमा तथा भुमिकास्थान नगरपालिका वार्ड नं ३ र ४ का महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई वडा नं ४ को वडा कार्यालयमा सहभागी गराई कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा करिव ६५ जना गृहणिहरुलाई सहभागि गराईएको थियो ।
कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्यको अध्यक्षता, मालारानी गाउँपालिका वार्ड नं ६ का वडा अध्यक्ष नारायण अर्याल तथा भुमिकास्थान नगरपालिका वार्ड नं ४ का वडा अध्यक्ष बावुराम सुनारको प्रमुख आथित्यता तथा डा. अर्जुनराज शर्माको प्रमुख प्रशिक्षणमा सञ्चालन गरीएको कार्यक्रममा सहजिकरण बरिष्ठ कविराज निरीक्षक कमल प्रसाद आचार्य तथा स्वास्थ्य केन्द्रका बैद्य निरीक्षक पशुपति पन्थीले गरेका थिए । कार्यक्रम जिल्लामा रहेका अन्य स्थानिय तहहरुमा समेत सञ्चालन हुने आयोजकले जनाएका थिए ।स्रोतःअर्घाखाँची बुलेटिन