अन्तरराष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी
काठमाडौं । मुलुकको पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् ।सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । कूल यात्रु आवागमन (आन्तरिक र अन्तरराष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ ।
आन्तरिकतर्फ हवाईयात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार तीन सय २६ पुगेको छ । जुन गत वर्षको तुलनामा सात दशमलव ०७ प्रतिशत कम हो । उक्त अवधिमा आन्तरिकतर्फ ९६ हजार नौ सय ८९ उडान अवतरण भएका छन् । उडान पनि गत वर्षको तुलनामा १० दशमलव ८७ प्रतिशतले घटेको छ ।
आन्तरिकमा कार्गो आगमन गत वर्षको तुलनामा १० दशमलव ३६ प्रतिशतले वृद्धि भई तीन हजार ४२६।८६१ टन पुगेको महाप्रबन्धक तिवारीले बताए । उनका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन्भने अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् ।
नेपालले ४१ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लो पटक गत मङ्सिर १९ गते नेपाल र रुवाण्डाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।