लाइन जडान नगरे शुक्रबारदेखि आन्दोलन गर्ने चेतावनी
भैरहवा । रुपन्देहीमा सञ्चालित १९ वटा उद्योगहरुले विद्युत काटिएका उद्योगहरुमा निशर्तः लाइन पुनः जडान नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले थप उद्योगको लाइन नकाट्न माग गर्दै शुक्रबारसम्म लाईन काटिएका उद्योगको विद्युत जडान नगरिएमा कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।
बुधबार नेपाल विद्युत प्राधिकरण भैरहवा र नयाँमिल वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै उद्योगीहरुले बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित १९ वटा उद्योगहरुले ट्रंकलाइनको छुट विलिङ भन्दै प्रयोग नै नगरको विद्युतको महशुल तिर्न लगाउनु लगत भएको उल्लेख गरेका छन् । उद्योगी व्यवसायीहरुले न्यायका लागि अदालत जाने समेत चेतावनी दिएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले एक्कासी लाईन काटिँदा उद्योगीसँगै मजदूर बिचल्लीमा परेको बताए । उनले शुक्रबारसम्म लाइन नजोडिए उद्योग बन्द गरेर तालाचाबी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने बताए।
विद्युत प्राधिकरणले उद्योगहरुमाथि दबाब सिर्जना गर्न विद्युत लाइन काट्न सुरु गरेको र भैरहवा वितरण केन्द्रले दुईवटा उद्योगको लाइन काटेकोप्रति बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगीहरु त्रसित भएको ज्ञापनपत्रमा उल्लेख छ ।
उद्योगी र प्राधिकरणबीचको विवाद उच्च अदालत तुलसीपुर बुटवल इजलासमा विचाराधिन रहेकै अवस्थामा लाईन काटिएको र अदालतको फैसला नआउँदासम्म उद्योगको विद्युत तत्कालै सुचारु गरी उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले बताए । उद्योगी विनय गोयनकाले नेपाल विद्युत प्राधिकरणले आफूहरुमाथि अन्याय गरेको गुनासो गरे ।
ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले उद्योगीको माग माथिल्लो निकायमा पठाउने र माथिल्लो निकायबाट आएको निर्देशन उद्योगसमक्ष पुर्याउने बताए । उनले किस्तामा विद्युत महशुल तिर्न उद्योगी तयार भए निवेदन लिने भन्ने कुरा निर्देशन आएको बताए ।त्यस्तै नेपाल विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले सत्यतथ्य बुझेर प्राधिकरणका केन्द्रीय कार्यालयमा पठाउने बताए ।