बुटवल धागो कारखाना व्यवस्थापन सम्बन्धी अर्थ मन्त्रालयको पत्र उद्योग मन्त्रालयद्वारा अस्वीकार
बुटवल । अर्थ मन्त्रालयले बुटवल धागो कारखानाको रेखदेख गर्ने जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने निर्णय गरे पनि त्यसको कार्यान्वयन हाललाई थाँती रहने भएको छ ।दुई महिना अगाडि अर्थ मन्त्रालयले धागो कारखानाको संरक्षण र रेखदेख गर्ने जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिने निर्णय गरेको थियो । तर उद्योग मन्त्रालयले त्यसमा असहमति जनाएपछि हाललाई उक्त निर्णय कार्यान्वयन हुन नसकेको हो ।
अर्थ मन्त्रालयले बुटवल धागो कारखाना र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड एउटै मन्त्रालय अन्तर्गत रहेको र जग्गा पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा भएकाले संरक्षण गर्न व्यवस्थापन लिमिटेडलाई जिम्मा दिने योजना बनाएको थियो । तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले संरक्षण गर्दा लाग्ने खर्च, बरबुझारथ नभएको अवस्थामा के गर्ने भन्दै निर्देशनात्मक आदेशका लागि उद्योग मन्त्रालयलाई पत्राचार गरेको थियो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी उपसचिव भूषण कुमार उपाध्यायले आफूहरूले मागेको आदेशका कुनै पनि पत्र उद्योग मन्त्रालयले नपठाएपछि अहिले जे छ, त्यसैगरी चलाउने भन्ने बुझाइ रहेको रातोपाटीलाई बताए।
२०६४ सालदेखि उत्पादन बन्द रहेको बुटवल धागो कारखानाले ०६६ असोजदेखि कर्मचारीलाई अनिवार्य अवकाश दिएको थियो । १४३ रोपनी क्षेत्रफलमा रहेको यो उद्योग परिसरमा ६ वटा ठुला भवन छन् । कर्मचारीको तलब सुविधा र औद्योगिक क्षेत्रलाई जग्गा भाडाबापतको खर्च धागो कारखानाले दिनुपर्ने हुन्छ । जग्गाको १ करोडभन्दा धेरै रकम तिर्न बाँकी छ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवलका धागो कारखानाका अधिकांश मेसिन बिग्रिएका छन् । कारखानाभित्र रहेका छुट्टाछुट्टै भवनमा रहेका विभिन्न समान हराउन थालेका छन् । यहाँ ठुलो मात्रामा तार हराएको खुलेको छ । उक्त तार हराएको विषयमा इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन समेत परेको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दान बहादुर थापाले रातोपाटीलाई बताए । धागो कारखानाका निमित्त महाप्रबन्धक डोलराज शर्माले ठुलो मात्रा तामाको तार हराएको जनाउँदै प्रहरीकहाँ निवेदन दिएको बताए । उनले विद्युतको सब स्टेसनबाट मेसिनसम्म विद्युत पुर्याउने तामाको तारको मूल्य १ करोड भन्दा धेरै रहेको बताए ।