सुरक्षाको माग गर्दै चिकित्सकहरुले दिए प्रहरीमा धर्ना
बुटवल ।चिकित्सकमाथि भएको दुब्र्यवहारको विरोधमा बिहीबार ईलाका प्रहरी कार्यालय बुटवलमा चिकित्सकहरुले धर्ना दिएका छन् । नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएशन), नेपाल फार्मेसी संघ, नेपाल स्वस्थ्य प्राविधिक संघ (पान), मेलान, निजी अस्पताल ब्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन स्वस्थ्य संस्थामा आवद्घ संस्थाहरुले इलाका प्रहरी कार्यालयमा धर्ना दिएका हुन् ।
चिकित्सकलाई हातपात गर्नेमाथि कडा कारवाही हुनुपर्ने माग उनीहरुले राखेका छन् । संघका सचिव डा. सन्तोष पोखरेलले बुधबार बसेको बैठकमा हातपात भएको चिकित्सकको विषयमा कुनै कुरा नउठेको भन्दै सार्वजनिक अवराध अन्तर्गत कारवाहीका लागि मुद्धा दर्ता गर्न लागेको बताए ।
पक्राउ परेका सात जना उपर किटानी जाहेरीसहित निवेदन दर्ता प्रक्रियामा रहेको उनले बताए । प्रहरीबाट आवश्यक प्रक्रिया अघि बढाउने कुरामा सहमति भएको र चिकित्सकको घाउचोट सुधार हुन लागेको उनले बताए । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले संवेदशील घटना घटेको भन्दै घटनाबारे कानुन बमोजिम कारवाही अघि बढ्ने बताए ।
निजी अस्पताल ब्यवसायी संघ (अफिन) लुम्बिनी प्रदेश अध्यक्ष रामप्रसाद खरेलले चिकित्सकहरु उपचार गर्दा समेत पिटिनुपर्ने अवस्था आउनु दुखद भएको बताए । यस्तो विकृति रोक्ने तर्फ सरकारको ध्यान जानुपर्ने भन्दै उनले आम नागरिकले सहज उपचारको ब्यवस्थामा ध्यान दिनुपर्ने बताए ।