नेपालमा पहिलोपटक समलिङ्गी विवाहलाई सरकारी मान्यता
पोखरा । नेपालमै पहिलोपटक समलिङ्गी विवाहले सरकारी मान्यता पाएको छ । लमजुङको दोर्दीमा पहिलोपटक समलिङ्गी विवाहको दर्ता गरिएको हो । दोर्दी २ मा विवाह दर्ता गरिएको गाउँपालिकाले जनाएको छ । राष्ट्रिय पञ्जीकरण विभागको निर्देशनअनुसार विवाह दर्ता गरिएको पालिकाका सूचना अधिकारी भीमप्रसाद लामिछानेले जानकारी दिए ।
त्यसअघि उनीहरू २ वर्षसम्म प्रेम सम्बन्धमा थिए । ‘हामीलाई परिवारले थुनछेक गरेनन् । सबैले स्वीकारे । सबैभन्दा धेरै खुसी त्यसैमा लागेको छ,’ बेहुली मायाले भनिन्, ‘विस्तारै समाजले पनि बुझे । पार्टी प्यालेसबाट भव्य रूपमा विवाह गरेका थियौँ । सबै आउनुभयो, त्यहीबेला नै समाजले र आफन्तले हामीलाई स्विकार्नुभएको हो ।’
उनीहरुले महिला र पुरुष जस्तै भएर सोर खुट्टेको सिद्धीगणेश पार्टी प्यालेसमा मण्डपबाट विवाह गरेका हुन् । अब समलिङ्गी तेस्रोलिंगीका लागि विवाहको बाटो खुलेको उनले बताइन् । सरकारी तवरबाट पनि धेरै सहयोग पाएको मायाको भनाई छ । सङ्घर्षको समयमा कसैले सहयोग नगरेको उनले सुनाइन् । ‘हिजो आफ्नै पकेट मनी निकालेर सङ्घर्ष गर्यौँ ।
सुरुका समयमा खासै साथ पाइएन,’ उनी अघि भन्छिन्, ‘अहिले त धेरै सजिलो भयो नि ।’ उनले ‘मायाको पहिचान नेपाल’ नामक संस्था खोलेकी छिन् । आगामी दिनमा दुवै जनाले यही संस्थाबाट वैवाहिक समानताका लागि लड्ने र अभियान चलाउने योजना बनाएका छन् ।