Advertisement
विज्ञापन

गुल्मीको ठूलो लुम्पेकमा आजदेखि मेला सुरु



Advertisement
विज्ञापन

गुल्मी। गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेकमा रहेको सत्यवतीमा मेला सुरु भएको छ । देशकै सय पर्यटन गन्तब्य क्षेत्रको सूचीमा रहेको सुन्दर पर्यटकीय स्थानमा रहेको सत्यवती मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशिला विश्वकर्मा आउने सत्यवती गाउँपालिका वडा नं. ३ का अध्यक्ष जितुबहादुर तरामु मगरले बताएका छन् ।

मेलालाई स्थानीय प्रतिभा र उत्पादनहरूको केन्द्रीकरण गरी प्रचारप्रसार गर्ने र स्वाधीन समाज निर्माणको आधार निर्माण गर्न प्रयत्न गरिने राजनीतिकर्मी खोमा तरामु मगरले बताए । मेलामा सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डे, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद थापा मगर, विभिन्न राजनीतिक दलका नेताहरू, जनप्रतिनिधिलगायतको सहभागिता रहने आयोजक संस्था साकटेक नेपालका अध्यक्ष धनराज श्रीस मगरले बताए ।


Advertisement
Advertisement
Advertisement

मेलाको अवसरमा मंसिर ७ गतेदेखि स्थानीय क्लब प्रगतिशील समाज क्वाङले भलिबल प्रतियोगिता सुरु गरेको छ । मंसिर १० गतेभित्र भलिबल प्रतियोगिता सम्पन्न भइसक्ने प्रगतिशील समाज क्वाङका अध्यक्ष लिलस श्रीस मगरले बताए । मेलामा हरेक बर्ष गुल्मी, पाल्पा, स्याङ्जा, पर्वत, बागलुङ, प्युठान, अर्घाखाँचीलगायतका जिल्लाहरूबाट हजारौंको संख्यामा दर्शनार्थीहरूको घुँइचो लाग्ने गर्छ । मेलामा विभिन्न व्यवसायीहरूको भीडभाड सुरु भएको छ । मेलामा स्थानीय उत्पादनमा आधारित विभिन्न परिकारका होटलहरू रहेको संस्थाका उपाध्यक्ष रुकबहादुर राहादी मगरले बताए ।

कहिले देखि शुरु हुन्छ मेला ?

बैकुण्ठ चतुर्दशी साँझदेखि पूर्णिमा (मंसिर १० र ११) गते दर्शनार्थीहरूले सत्यदेवीलाई पुजा गर्ने, दूध चढाउने, शान्तिको प्रार्थना गर्दै परेवा उडाउने, भाकल पुजा गर्ने, चिच्याएर बर माग्नेहरूको भीडभाड हुनेछ । मेलामा स्थानीय उत्पादित सुन्तला, सखरखण्ड, बदाम, बटुक, सेलरोटी, मासुका विभिन्न परिकारहरू खान पाइन्छ । मेलाको अवसरमा राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूले मनोरञ्जन दिने कार्यक्रम रहेको छ । लोक कलाकारहरू श्याम राना, रूपा घर्ती मगर, सुदीप सिंजाली, डोलराज परियार र गुणदेव थापाले आफ्नो गायन प्रस्तुत गर्नेछन् भने स्थानीय मगर सोरठी, सालैजो, कौरा, झ्याउरे लगायतका गीत र नाचहरूको प्रस्तुति रहनेछ ।

कसरी पुग्ने गुल्मीको सत्यवती ?

गुल्मी जिल्लाको सदरमुकाम तमघासदेखि १४ कोष पूर्व, समुद्री सतहदेखि २००० मी. उचाईमा सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा रहेको छ । तम्घासदेखि रिडी हुँदै रुद्रबेणी वजारबाट करिव ११ कि.मि. उकालो कच्ची मोटर बाटो चढेपछि ठूलो लुम्पेक गाउँमा पुगिन्छ । त्यहाँबाट करिब ३० मिनेट गाडी यात्रापछि सिरानीमा रहेको सत्यवतीमा पुग्न सकिन्छ ।

बुटवलबाट आउँदा पाल्पाको तानसेन, रिडी, हुँदै आउन सकिन्छ । रुद्रवेणीसम्म पीच बाटो रहेको छ ।सत्यवती प्राकृतिक हिसावले सुन्दर ठाउँ हो । यो क्षेत्र सरकारले घोषणा गरेको सय पर्यटन गन्तब्य मध्ये एक हो । ठूलो लुम्पेकको सिरानीमा रहेको सत्यवतीको धार्मिक र सांस्कृतिक महत्व त छँदैछ । सत्यवतीमा अहिले दैनिकजसो भिडियो सुटिङ गर्ने र अन्य घुम्ने जानेहरूको भीडभाड हुने गर्छ ।

वि.सं. १९९० तिरबाट तत्कालिन पुजारी लिलाराम तरामु मगर (बुढोसाँढ) र उनका परिवारले संरक्षण गर्दै आएको भएपनि केही वर्षयता ग्रामीण पर्यटन विकास गर्ने उद्देश्य सहित स्थानीय संघसंस्थाहरूले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएका छन् । सत्यवतीबाट पाल्पाको श्रीनगर, रेसुङ्गा, सिद्धहिले, कालीगण्डकी नदि र उत्तरपूर्व तर्फ धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण हिमालहरूको नजिकै दृश्यालोकन गर्न सकिन्छ । यहाँ पुजापाठका लागी पाल्पा, स्याङ्जा, रूपन्देही, पर्वत, बाग्लङ, म्याग्दी, अर्घाखाँची लगायत जिल्लाहरूबाट हजारौं दर्शनार्थीहरू आउने गर्छन् ।

पुगेपछि के के देखिन्छ त ?

यस्तै झण्डै २ सय बर्ष अगाडी भुरेटाकुरे दरवार रहेको हचिङ्कोट डाँडा, प्रसिद्व ल्हुम्पेकी थानी थान, खड्कदेवी कोट, लाम्थुडी झरना, सिद्व हिले, मसिना दह, लाली गुराँसे डाँडा, अद्भूत हुक्रायो नाग दृश्यावलोकनका लागी आकर्षणका केन्द्र रहेका छन् । ठूलो लुम्पेकबाट धौलागिरी, माछापुच्छ्रे, मानापाथी, लोत्से लगायत हिमशृंखलालाई नजिकबाट हेर्न सकिन्छ ।

प्राकृतिक स्रोत र साधनको दृष्टिकोणले नेपाल जति भरिपूर्ण छ, ठूलो लुम्पेक कृषि पर्यटनको दृष्टिकोणले पनि परिचित रहेको छ । प्रायः प्रत्येक घर परिवारले कृषिलाई व्यवसाय बनाएर जीविकोपार्जन गरिरहेका छन् । टमाटरको टनेल नभएको घर पाउन त मुस्किलै पर्छ ।

कृषिको सामूहिक उत्पादन र व्यसायिकता यहाँको असाध्यै राम्रो उदाहरण हो । यहाँको तरकारी पाल्पा, बुटवल, स्याङ्जा हुँदै गोरखपुरसम्म विक्री हुँदै आएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad