राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा
जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन् । घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए ।
उनले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।राष्ट्रपतिको भनाई उदृत गर्दै सल्लाहकार पोखरेलले भने–‘तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु ।’
सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी गराएका थिए । त्यस्तै घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए ।
गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेतबाट जाजरकोट पुगेका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठबिसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनेछन् ।
भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका थिए । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन् ।