काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सरकारको उपस्थिति घटनास्थलमा देखिएपनि आश्वस्त हुने गरी पीडितले राहत पाएका छैनन् । विभिन्न संघसंस्थाहरु राहत लिएर पुगेका छन् । सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत राहत पठाउने काम भइरहेको छ । तर, भूकम्प गएको दुई दिन बितिसक्दा पनि धेरै पीडितहरु खुला आकाशमुनि रात बिताउन बाध्य देखिन्छन् ।
विपद्मा तत्काल खर्च गर्न मिल्ने गरी कोष खडा गरिएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सरकारले पीडितको उद्धार, राहत र पुनस्र्थापनाको काम गर्छ । २०७२ वैशाखको भूकम्पमा पनि यसै कोषमार्फत सरकारले २२ अर्बभन्दा बढी खर्च गरेको थियो । अहिले यो कोषमा जम्मा तीन अर्ब रुपैयाँ छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आइतबार सूचना जारी गर्दै देश विदेशमा रहेका सहयोग गर्न इच्छुकलाई दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अनुरोध गरेको थियो । सात वटा बैंकहरु राष्ट्रिय वाणिज्य बैक, कृषि विकास बैक लिमिटेड, नेपाल बैंक लिमिटेड, स्टान्डर्ड चार्टड बैक नेपाल लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडमा खोलिएको खातामा रकम जम्मा गर्न प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको हो ।
भाटभटेनी सुपरमार्केटका धनी मिनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँको चेक हस्तान्तरण गरिसके । त्यस्तै ठूला राजनीतिक दलहरु क्रमशः नेपाली कांग्रेस, एमाले र माओवादीले पनि भूकम्प पीडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै विभिन्न वैदेशिक राष्ट्रबाट पनि सहयोगको आश्वासन आएको छ । चितवनको भरतपुर महानगरपालिका लगायत स्थानीय तहले पनि सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।
यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको दैवी प्रकोप उद्धार कोष भने सहयोग कुर्दै बसेको छ । कार्यालयको आर्थिक प्रशासन शाखाले प्रधानमन्त्री राहत कोष, प्रधानमन्त्री सहायता कोष र राष्ट्रिय विपद् व्यवस्थापन कोषको सञ्चालन तथा लेखा व्यवस्थापन गर्दै आएको छ ।
आर्थिक प्रशासन शाखाका उपसचिव सूर्य भण्डारीले कोषमा जम्मा हुन आएको रकम गृह मन्त्रालयमातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत खर्च हुने गर्दछ । ‘ अहिलेसम्म कोषमा कति रकम जम्मा भयो भनेर यकिन जानकारी छैन,’ भण्डारीले रातोपाटीसँग भने,‘ हामीले खाता खोलिएका बैंकसँग समन्वय गरिरहेका छौँ, चार बजेसम्म के कति जम्मा भयो भन्ने जानकारी आउँछ ।’