बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सरकारको वार्षिक कार्यक्रम अन्तर्गत यो वर्ष कार्तिक १७ र १८ गते आज र भोली देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।६-६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने गरिएको छ ।
यसपटक देशभर गरी करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’खुवाइने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिला बिक्रम थापाले जानकारी दिए ।उनका अनुसार यसपटक राष्ट्रिय भिटामिन ‘ए’कार्यक्रममा, भिटामिन ‘ए’क्याप्सुल ४० लाख क्याप्सुल, जुकाको औषधि ३५ लाख ट्याब्लेट खपत हुने अनुमान छ ।
६ महिनादेखि ५९ महिना उमेरसम्मका करीब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र करिब २९ लाखलाई जुकाको औषधी खुवाइने लक्ष्य राखिएको थापाले बताए ।६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’क्याप्सुल र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइनेछ ।
अघिल्लो वर्ष भिटामिन ‘ए’क्याप्सुल करिव ९० प्रतिशत र जुकाको औषधी करिव ८७ प्रतिशतले खाएका थिए ।सुरुमा ८ वटा जिल्लाबाट यो कार्यक्रम सुरु गरिएको थियो । साथै जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ सालमा १३ वटा जिल्लाबाट सुरु भएको थियो ।रुपन्देहीमा भिटामिन ए खाने बालवालिका ९४ हजार ८८ जना र जुकाको औषधी खाने बालवालिका ८३ हजार ७ सय ४७ जना रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।