इजरायलको खबरले ढलेको आनन्दको परिवार
जनकपुरधाम । बुबा सोमन होशमा आउने बित्तिकै छाती ठोक्दै विलाप गर्छन्, ‘हौ बौवा, आब केना हमर दुखके दिन दुर हेतै हौं । केकरा हम बेटा–बेटा कहबै हौं ।’ (ए बाबु ! अब हाम्रा दुःखका दिन कसरी हट्छ । कसलाई हामीले छोरा भन्ने ?)यसो भन्दै गर्दा उनी मुर्छा पर्छन् । छरछिमेक र आफन्तले दाँती छुट्टाउन खोज्छन्, सम्झाउँछन् र उनलाई सुताउने प्रयास गर्छन् ।
७० वर्षीया हजुरआमा बसमतिया देवी, आमा शुभकली र माहिली बहिनी सरस्वती पनि अचेत छन् । जेठी बहिनी सुनिता र कान्छी आरतीको आँसु सुकिसकेको छ ।प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपही २५ वर्षीय आनन्द साह पनि परेको खबरसँगै घरका सदस्य मुर्छित छन् । रातिदेखि आफन्त र छरछिमेकी जम्मा भएर सोमनको परिवारलाई सान्त्वना दिइरहेका छन् । तर सम्झाएर कहाँ सम्झिन्छ र मन ।
तीन छोरी र एक छोरामध्ये पहिलो सन्तान थिए आनन्द । आनन्दलाई पढाउन सोमनले १० वर्ष खाडीमा पसिना बगाए । छिमेकी काका मिथिलेश साहका अनुसार आनन्दले जनकपुरकै एन्जल्स बोर्डिङ स्कुलबाट एसएलसी पास गरेका थिए ।
तर आनन्दलाई भने पटक–पटक कल गर्दा पनि फोन नउठेपछि परिवारका सदस्यहरु आत्तिए । दाइ रामईश्वरका अनुसार रिमाले नै आइतबार बिहान ५ बजेतिर आनन्दको मृत्यु भएको आशयका साथ फोन गरेकी थिइन् । तर आनन्दको परिवारलाई घाइते भएकाले उपचार हुँदै छ भनेर मात्र भन्न आग्रह गरेकी थिइन् ।साँझ मृतक र घाइतेको विवरण सार्वजनिक भएपछि परिवारको धैर्यताको बाँध टुटेको छ ।
इजरायल जानु अघि हजुरआमा बसमतियाले घर बनाऊ, बिहे गर भनेर आनन्दलाई भनेकी थिइन् । ‘म पढाइ सकेर फर्किएपछि ठूलो घर बनाउँछु, अनि बिहे गरेर बुहारी भित्र्याउँछु । तबसम्म बाँचिरहनु दादी भनेर आश्वासन दिएका थिए,’ हजुरआमा–नाति बीचको सम्वाद सुनेका काका मिथिलेशले भने ।
एक करोड विरुवा रोप्ने सपना
आनन्दमा समाजसेवी भावना थियो । उनी प्रकृति प्रेमी थिए । समाजसेवाका लागि भविश्यमा अक्सिजन उद्योग, सुविधासम्पन्न अस्पताल खोलेर समाजको सेवा गर्ने उनको धोको थियो ।
काका मिथिलेशका अनुसार रमदैयाको जानकी मेडिकल कलेज नजिक बुबा सोमनले पाँच कठ्ठा जति जग्गा जोडेका छन् । त्यहाँ अझै जग्गा थपेर भविश्यमा सुविधासम्पन्न अस्पताल बनाउने योजना उनले सुनाउथे ।
यही कुरा लेखेर उनले सामाजिक सन्जाल फेसबुकको कभर फोटो पनि बनाएका छन् । चैत २०७८ मा बुद्धजयन्तीको दिन मातृभाषा मैथिली र अंग्रेजीमा लेखेको संकल्पमा उनले आफ्नो जीवनमा एक करोड विरुवा रोप्ने, अक्सिजन फ्याक्ट्री र सुविधासम्पन्न हस्पिटल खोल्ने प्रतिज्ञा गरेका थिए ।तर अब आनन्दको त्यो सपना अधुरै रहने भयो ।