गुल्मीमा मूल्यवृद्धि विरोधमा एमाले निकट २२ संगठन आन्दोलनमा
गुल्मी । मूल्यवृद्धि विरोधमा एमाले निकट २२ संगठन आन्दोलनमा उत्रिएका छन् । उनीहरूले १० बुँदे माग राखेर गुल्मीमा नेकपा एमाले निकट २२ वटा जनबर्गीय संगठनले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
जनबर्गीय संगठनका नेताहरुले प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाएका छन् । नेपालीहरुको राष्ट्रिय चाडपर्वहरु नजिक आइरहेको बेला आर्थिक मन्दीको चपेटामा परेका जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य बस्तुहरुमा मनपरी मुल्य बृद्धि भइरहेको प्रति बिरोध गरेका छन् । सरोकारवालासँग परामर्श नगरी ल्याइएको शिक्षा विधेयकका कारण आज शिक्षक आन्दोलित भएको प्रति ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ, बेरोजगारीको समस्या झन बिकराल बन्दै गएको प्रति संगठनले बिरोध गरेका छन् । \
जनसरोकारका यावत विषयमा गठबन्धन सरकार गैर जिम्मेवार बनेको मात्र होइन, मुलुक थप अस्थिरता र अराजकतातर्फ अघि बढिरहेको जनतालाई अनुभूत भएको प्रति संगठनले बिरोध जनाएका छन् । देशभित्र कुनै आशा नदेखेर शिक्षा र रोजगारीका लागि विदेशिने युवाहरुलाई विभिन्न बहानामा ठगी गर्ने काम भइरहेको प्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । देशमा युवाहरुलाई आशा जगाउन असफल सरकार बैदेशिक रोजगारीमा हुने ठगी र मनपरिलाई रोक्न सकेको संगठनको आरोप रहेको छ ।
विदेशिने नेपालीहरु माथि भएको शोषण र विभेद अन्त्य गर्न नसकेको अवस्था छ । त्यसैले देशभित्रै युवाहरुलाई राख्ने रोजगारमूलक कार्यक्रम संचालन गर्न, उद्यमशील युवाहरुलाई वित्तीय पहुँच, तालिम तथा लगानी सुरक्षित गर्ने ग्यारेण्टी गर्नका लागि जोडदार माग गरेका छन् । कृषि क्षेत्र सरकारको चरम उपेक्षामा परेको, कृषकका समस्यामा सरकारको उदासिनताले हामी दिनप्रति दिन कृषि उपजमा परनिर्भर भएका प्रति ध्यानाकर्षण गराएका हुन् । समयमा मल बिऊ विजनको व्यवस्था गर्न, वन्यजन्तुको आक्रमणको नियन्त्रण तथा क्षतिपूर्तिको व्यवस्था गर्न, कृषि उपजको भण्डारण, प्रशोधन तथा उचित समर्थन मूल्यसहितको बजार व्यवस्थापन गर्नका लागि जोडदार माग गरेका छन् ।