आर्थिक मितव्ययीता सहितको सामाजिक सद्भाव अपरिहार्य : हिमाल दत्त श्रेष्ठ
बुटवल, २९ भाद्र २०८
नेपाली काङ्ग्रेस पाल्पाका सभापति नेता हिमाल दत्त श्रेष्ठले परिवर्तनशिल परिस्थिति र समयलाई व्यवस्थित बनाउँदै आर्थिक मितव्ययिता सहितको सामाजिक सद्भावपुर्ण राजनैतिक अभ्यास हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाली काङ्ग्रेस पाल्पा- रुपन्देही सम्पर्क समिती द्वारा बुटवलमा आयोजना गरिएको अनौपचारिक भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति श्रेष्ठले उपस्थित नेतागण तथा साथिहरुलाई उदृध गर्दै देशको विद्यमान अवस्था आर्थिक संकटमा फसिरहेको र यो चुनौतिलाई व्यवस्थित संकल्पले धैर्य रहि सामना गर्नुपर्ने बताए । आर्थिक मितव्ययीता बिनाको समाज सेवा र राजनैतिक अभ्यास अल्पकालिन र तनावपूर्ण हुने बताउँदै श्रम तथा रोजगारलाई उच्च प्राथमिकता राख्न जोड दिएका छन् । आफ्नो वर्तमान राजनैतिक ध्येय, लक्ष्य र उदेश्य संगठन मात्रै भएको बताउँदै विपिको समाजवाद, किसुनजीको कुटनिती र गिरिजाबाबुको गतिशिलतालाई मनन गरि अघि बढ्न सकेमा कांग्रेसको गर्विलो इतिहास अझ सशक्त भइ समाजवादको साझा छाहारी बन्ने कुरामा दुई मत नरहेको बताए ।
धार्मिक सहिष्णुता र धार्मिक एकता बलवान भएको र धार्मिक द्वन्द्व क्रियाकलापहरुको मुल्य मंहगो परेका उदाहरण बताउँदै धार्मिक एकता सहित सद्भाव र संस्कृतिको जगेर्ना कायम राखी हरितालिका तिज मनाउन आग्रह गर्दै हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना समेत व्यक्त गरेका छन् ।
नेपाली काङ्ग्रेस पाल्पा- रुपन्देही सम्पर्क समितीका अध्यक्ष सुरेश पौडेलको संयोजकत्वमा बुटवलमा सम्पन्न अनौपचारिक भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सदस्य माधव थापा, विष्णु प्रसाद पाण्डे, सल्लाहकार राम श्रेष्ठ, नेपाली काङ्ग्रेस तिनाउ गाउँपालिका सभापति प्रेम प्रसाद पाण्डे, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कविन्द्र नेपाल , प्रदेश प्रतिनिधि सिद्दार्थ श्रेष्ठ, नेविसंघ रुपन्देहीका सभापति सम्शेर खड्का, विद्यार्थी नेताहरु सुमन गुरुङ, श्रीधर बस्याल, बिपिन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको व्यवस्थापन तथा संचालन प्रदेश प्रतिनिधि किशोर पंगेनीले गरेका थिए ।