प्रधानमन्त्री प्रचण्डले दिए सुुवास नेम्वाङलाई श्रद्धाञ्जली
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन्।
मंगलबार दिउँसो ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयमा पुगेर प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका हुन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसहित अन्य नेताहरू पनि श्रद्धाञ्जली दिन च्यासल पुगेका छन्।
बालुवाटार बस्ने नेम्वाङलाई मंगलबार राति १ बजे हृदयघात भएको थियो। हृदयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।
उनलाई अस्पताल पुर्याउँदा नै जीवनसम्बन्धी कुनै चाल नदेखिएको अस्पतालले जनाएको छ। उनलाई राति १ बजेर ५० मिनेटमा नेम्वाङलाई अस्पताल ल्याइएको निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।
‘चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो,’ उनले भनेका छन्, ‘त्यसबखत उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको थियो।’
चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएपछि आज बिहान ३ बजे नेम्वाङलाई मृत घोषणा गरिएको निमित्त कार्यकारी निर्देशक दासले निकालेको विज्ञप्तिमा उल्लेख छ।