नेपाललाई विश्वकप छनोटको लागि कमजोरी सच्याउने अन्तिम अवसर
काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) फिफा वरीयतामा एसियाको शीर्ष २६ टिममा नरहेपछि विश्वकप २०२६ छनोटको पहिलो चरणबाटै मैदानमा ओर्लँदैछ । र पहिलो चरणको प्रतिद्वन्द्वी पाएको छ ।
‘होम एन्ड अवे’ को आधारमा अक्टोबर १२ (काठमाडौं) र अक्टोबर १७ (भियन्तिन) मा हुने लाओसविरुद्धको खेलको तयारीमा आफ्नो कमजोरी सच्याउने अन्तिम अवसरको रुपमा नेपालले म्यान्मारविरुद्ध मैत्रीपूर्ण खेलमा आज सोमबार प्रतिस्पर्धा गर्दैछ ।
नेपाल फिफा वरीयताको १७५ औं स्थानमा छ । १५ स्थानमाथि (१६०) रहेको छ म्यान्मार । त्यसैले विश्वकप छनोटको लागि म्यान्मारविरुद्ध दुई मैत्रीपूर्ण खेललाई नेपालको राम्रो तयारी मान्न सकिन्छ । ठूला प्रतियोगिता वा अवसरको लागि सबभन्दा महत्त्वपूर्ण आफ्नो कमजोरी पत्ता लगाएर सच्याउने वा सुधार गर्ने अवसरको रुपमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरूलाई लिइन्छ ।
यसैको एउटा पक्ष हो म्यान्मारविरुद्ध नेपालका दुई खेल । विश्वकप छनोटको ‘ड्र’ अघि म्यान्मार पनि महादेशीय वरीयताको शीर्ष २६ स्थानमा परेन । त्यसैले उसले पहिलो चरणबाटै छनोट खेल्नुपर्यो । उसले मकाउविरुद्ध दुई ‘लेग’ खेल्दैछ ।
लाओस फिफा वरीयताको १८७ औं स्थानमा छ । तर, उसलाई कमजोर मानिहाल्ने अवस्था छैन । किनभने उसले गत मार्चमा दशरथ रंगशालामा आयोजित त्रिदेशीय प्रतियोगिता प्रधानमन्त्री कपमा घरेलु टिम नेपाललाई कडा चुनौती दिएको थियो । समूह चरणमा २–० को जित हात पारेको नेपालले फाइनलमा राम्रै टक्कर दिएको थियो ।
सुरुमै अग्रता लिएको लाओसविरुद्ध आयुष घलानले पहिलो हाफमै नेपाललाई बराबरीमा पुर्याएका थिए । मनीष डाँगीले ८८ औं मिनेटमा गोल गरेपछि नेपालले जित हात पारेको थियो । यसपटक विश्वकप छनोटको समूह चरणमा स्थान बनाउन नेपालले दुई लेगको प्रतिस्पर्धामा लाओसलाई पराजित गर्नैपर्छ ।
गत जुन महिनामा बेंग्लोरमा भएको साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन गतिलो भएन । साविक उपविजेताको रुपमा प्रतियोगितामा प्रवेश गरेको नेपाल समूह चरणबाटै घर फर्किनुपरेको थियो । आमन्त्रित टिम कुवेतविरुद्ध ३–१ र घरेलु टोली भारतविरुद्ध २–० ले हारेको नेपालले समूहको अन्तिम खेलमा पाकिस्तानमाथि १–० को सान्त्वना जित निकालेको थियो । यसले इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले सम्हालेको नेपाली टिम उत्कृष्ट लयमा नरहेको प्रष्ट पार्छ ।
यांगुनस्थित थुवुना रंगशालामा म्यान्मारविरुद्ध शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलको गोलरहित बराबरी भने राम्रै नतिजाको रुपमा लिनुपर्छ । किनभने चार वर्षअघि म्यान्मारकै भूमि मान्डलयमा नेपालले ३–० ले हारेको थियो । उक्त खेलमा अन्जन विष्टले पेनाल्टीको अवसरलाई उपयोग गरेको भए खेलको कथा फरक हुनसक्थ्यो । गोलकिपर क्याव जीन फोले पेनाल्टी रोक्दै अन्जनलाई नीराजन रायमाझी र हरि खड्काको समान १३ गोलको कीर्तिमान बराबरी गर्नबाट रोकिदिएका थिए । तर, पूरा खेलमा घरेलु टिम हावी भएको थियो ।
तैपनि कप्तान एवम् गोलकिपर किरण चेम्जोङ र रक्षापंक्तिको उत्कृष्ट प्रदर्शनको सहयोगमा नेपालले ‘क्लिन–सिट’ राखेको थियो ।
खेलाडीहरूको अस्ट्रेलिया पलायन र प्रशिक्षक एनेसको आगमनमा टिममा ठूलै परिवर्तन भएको नेपालले शुक्रबार गोलका केही अवसर पनि बनाएको थियो । तर त्यो उपयोग गर्नै सकेन । त्योभन्दा धेरै अवसर त म्यान्मारले सिर्जना गरेको थियो । त्यसैले नेपाललाई मैदानमा टिम संगठित बनाएर विपक्षीलाई रोक्ने मात्रै होइन, गोलको अवसर सिर्जना गर्ने र गोल गर्ने चुनौती पनि देखिएको छ । र, विश्वकप छनोटमा लाओसविरुद्ध सुधार गर्नुपर्ने पनि यसैमा हो । आफैंले गल्ती गर्न नहुने त छँदैछ । प्रशिक्षक एनेसको नेतृत्वमा नेपाली खेलाडीहरूले आफ्ना कमजोरी सच्याउने अन्तिम प्रयास म्यान्मारविरुद्ध थुवुना रंगशालामा आज गर्दैछ ।
नेपालले जित वा बराबरी नतिजामा भन्दा पनि आफ्नै कमी–कमजोरी पत्ता लगाएर सच्याउने पक्षमा ध्यान दिनु अत्यावश्यक छ । थाइल्यान्ड, इन्डोनेसिया र कम्बोडियाका लिग खेलिरहेका १० खेलाडीलाई म्यान्मारले टिममा समावेश गरेको छ । भारत, इन्डोनेसिया र थाइल्यान्डका क्लबमा आबद्ध किरण चेम्जोङ, मनीष डाँगी र रोहित चन्द पनि नेपाली टिममै छन् । तर, नेपालले हरेक पोजिसनमा आफ्ना खेलाडीको उपस्थितिलाई बलियो र प्रभावकारी बनाउन जरुरी छ, जसले विश्वकप छनोटमा लाओसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सकोस् । दुई स्ट्रइकर आर्मीका जिलेस्पीजंग कार्की र जावलाखेल युवा क्लबका हिसुब थपलियाले शुक्रबार डेब्यु गरेका थिए । थप खेलाडीले दोस्रो खेलमा अवसर पाउन सक्छन् ।