दूधमा आत्मनिर्भर बनाउन भैँसी र बाख्रा वितरण
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको आम्दानीको स्रोत बढाउन नगरपालिकाले यस आवका लागि करिब रु तीन करोड बराबरको बजेटसमेत विनियोजना गरेको छ ।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र बाख्रा वितरण गरेको छ । एघार वडा रहेको यस नगरपालिकाले ४४ जना किसानलाई माउ भैँसी वितरण गरेको छ भने ४४ वटा बोयर जातको बोका वितरण गरेको छ ।
किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी भित्र्याउने लक्ष्य लिएको नगरपालिकाले यसअघि दुई माउ भैसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैँसी प्रदान गरेको पशु सेवा शाखाका संयोजक सन्देश ताम्राकारले जानकारी दिए। संयोजक ताम्राकारका अनुसार नगरपालिकाको बाहुनीडाँडा, बडहरे, मङ्गलटार, महादेवस्थान र सल्लेमा दुई माउ भैँसी पाल्ने किसान पहिचान गरी माउ भैंसी किन्न किसानलाई नै रु एक/एक लाखका दरले नगद उपलब्ध गराइएको हो ।
नगरपालिकाको सर्शत अनुदानअन्तर्गत रु ७५ लाख बजेट ४४ जना किसानलाई भैँसी किन्न रु एक–एक लाख र भैँसीलाई गोठ बनाउन प्रतिकिसान रु २०/२० हजार प्रदान गरिएको छ । सर्शत बजेटभित्रैबाट भैँसी पाएका किसानलाई दिने गरी १० लिटरको ४४ वटा मिल्क क्यान (दूध लगाउने भाडा) खरिद गरिएको छ ।
किसानलाई वितरण गर्नकै लागि १३ वटा च्यापकटर मेसिन पनि नगरपालिकामा ल्याएर राखिएको जनाइएको छ । किसानले पालेका भैँसीबाट उत्पादित दूध सङ्कलन गर्न रु चार लाख बजेट दूध सङ्कलन केन्द्रलाई छुट्याइएको नगरपालिकाले जनाएको छ । किसानले उत्पादन गरेका दूध त्रिधार्मिकस्थल हलेसी बजारमा घरभाडामा लिएर दूध सङ्कलन केन्द्र स्थापना गरेर बिक्री गर्ने व्यवस्था मिलाइको जनाइएको छ । किसानले ल्याएका भैँसीमा कृत्रिम गर्भाधानसमेत गराएर उन्नत जातको पाडापाडी उत्पादन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।
सोही रु ७५ लाख बजेटभित्रैबाट खानेपानीका लागि ३२ वटा हिलट्याङक ल्याएर नगरपालिकामा राखिएको जनाइएको छ ।